प्युठानमा आइतबार बिहान करिब ३ बजे भएको बस दुर्घटनामा परि ज्यान गुमाएका पाँचै जनाको सनाखत भएको छ। दुर्घटनामा परि प्युठान जिल्लाको गौमुखी गाउँपालिका वडा नं. २ निवासी १७ वर्षीय हिरा टमाटा, गौमुखी गाउँपालिका वडा नं. ३ का २६ वर्षीय हरि मल्ल, प्युठान नगरपालिका वडा नं. २ बस्ने ३६ बर्षीया सविता शर्माको मृत्यु भएको छ।
त्यस्तै कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं. २ निवासी अन्दाजी ३० बर्षीय सरिता चन्द गिरी र कैलाली जिल्लाको चौमाला गाउँपालिका वडा नं. ९ निवासी अन्दाजी ३७ वर्षीय विरु चौधरीको मृत्यु भएको जिल्ला अस्पताल प्युठान विजुवारमा कार्यरत प्रहरी हवल्दार लोकबहादुर डिसीले सेतोपाटीलाई जानकारी दिए।
हवल्दार डिसीका अनुसार कैलालीका चौधरी बसका चालक हुन्। उनीहरु सबैको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। डिसीका अनुसार अब जिल्ला अस्पताल विजुवारमा दुई जनाको मात्रै उपचार भइरहेको छ।
गुल्मी अल्गुंगका ४५ वर्षीय तारा विष्ट र चितवनको चित्रवन नगरपालिका–१७ स्थायी घर भइ हाल छिमेकी देश भारतमा बस्दै आएका ७३ वर्षीय राजेन्द्रप्रसाद तिमल्सिनाको मात्रै प्युठानमा उपचार भइरहेको छ।
यसैबीच जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख एवम् डिएसपी राजेन्द्रप्रसाद पोखरेलले दश जना गम्भीर घाइतेको बुटवलमा र तीन जनाको बाँकेको कोहलपुरमा उपचार भइरहेको जानकारी दिए।
उनले १४ जना उपचार पछि डिस्चार्ज भइसकेको बताए। महेन्द्रनगरबाट प्युठान जाँदै गरेको महाकाली यातायातको ना ४ ख १८७६ नम्बरको बस आइतबार बिहान प्यूठानको शर्मारानी गाउँपालिका वडा नं. ४ पाकुरीमा दुर्घटना भएको थियो।
दुर्घटनाका अन्य घाइतेहरू –दुर्घटनामा मल्लरानी गाउँपालिका–३ का तीर्थराज पोख्रेल (३८), गुल्मी अल्गुंगका तारा विष्ट (४५), दैलेख दुल्लु नगरपालिका–११ का हिमा बोहोरा (२५), जगदीश खत्री (२५), रिगल खातुन (२), प्यूठान नगरपालिका–३ साढेखाला ईश्वर खड्का (२६), महेन्द्रनगर कञ्चनपुर बेदकोट नगरपालिका–६ का सुनिल रानामगर (२३) घाइते भएका छन् ।
त्यसैगरी, दुर्घटनामा परी मल्लरानी गाउँपालिका चुँजाठाटीका सुश्मा चौधरी (२०), बैतडी पुचौडी नगरपालिका–६ का प्रकाश सावत, चितवन चित्रवन नगरपालिका–१७ का राजेन्द्रप्रसाद तिमल्सिना (७३), रोल्पा सुवर्णावती गाँउपालिका–२ का शेरबहादुर वि.क. (४४), सपना वि.क. (१६), गौमुखी गाउँपालिका–४ का थमजीत वि.क. (१५), कैलाली गौरीगंगा नगरपालिका–३ का राजेश चौधरी (२२) घाइते भएका छन् ।
प्रहरीका अनुसार, घाइते झिमरुक गाउँपालिका–३ का प्रेम केसी (२१), प्यूठान नगरपालिका–१० दहखोलाका गोमा गिरी (४९) को उपचार भइरहेको छ ।
माण्डवी गाउँपालिका–१ का बसन्त शर्मा (३८), रोल्पा सुवर्णावती गाउँपालिका–२ का हरि सुनार (२५), दैलेख दुल्लु नगरपालिका–११ का सफल अर्याल (७), रुपन्देही कन्चन गाउँपालिका–३ का गोविन्द अर्याल (३५), हिमला पोख्रेल (२९) लाई थप उपचारका लागि बाहिरी जिल्ला रेफर गरिएको प्रहरीले जानकारी दिएको छ ।