३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पाँचथरका २ जना युवाहरूलाई जनही १० वर्ष कैद सजायको फैसला गरेको छ।
बिहिबार पाँचथर जिल्ला अदालतका जिल्ला न्यायधीश मनोज केसीको इजलासले फिदिम नगरपालिका १ का १८ वर्षीय जयन्द्र तामाङ र सोही ठाउँका १९ वर्षीय समिर केरुङविरुद्ध जनही १० वर्ष कैदको फैसला गरेको हो।
आरोपितहरू विरुद्ध मुलुकी ऐनको महल १४ को जबरजस्ती करणीको ३, ५ अनुसार पाँच वर्ष र सामूहिक बलात्कार गरेकाले ३ क अनुसार थप पाँच वर्षगरी जनही १० वर्षकैदको फैसला गरिएको पाँचथर अदालतले जनाएको छ। यसैगरी, पीडितलाई आरोपितहरूबाट जनही २० हजार रुपियाँ क्षतिपूर्ति दिलाइ भराइको समेत केसीको इजलासले फैसला गरेको छ।
पीडितको उजुरी अनुसार ०६९ मा आरोपितहरू विरुद्ध प्रहरीले अभियोग दर्ता गरेको थियो। आरोपितहरू फरार रहेकाले मुद्दा मुल्तवीमा राखिएको थियो ।
प्रहरीले आरोपितहरूलाई गिरफ्तार गरेपछि ०७४ माघ ११ गते मुद्दा दायर गरेको थियो। केसी इजलासको फैसला अनुसार आरोपितद्वयलाई कैद भुक्तानका लागि कारागार चलान गरिएको अदालतका सूचना अधिकारी मोहन लिम्बुले जानकारी दिए।