नेत्र विक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ताहरूले रुपन्देहीका विभिन्न स्थानमा बम जस्तै देखिने शंकास्पद वस्तु राखेपछि जनजीवन त्रसित बनेको छ।
बुटवल मणिमुकुन्द सेन पार्कसँगै रहेको भारतीय भूपू सैनिक पेन्सन क्याम्प र तिलोत्तमा नगरपालिकाको नयाँ मिलमा बम जस्तै शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ।
बुटवल- बेलहिया ६ लेन सडक खण्डको नयाँ मिलदेखि करिब २ सय मिटर उत्तरमा मुख्य सडकको जेब्राक्रसमै प्रेसर कुकर जस्तै देखिने वस्तुका कारण जनजीवन त्रसित बनेको छ।
सडकको मध्यभागमा बम जस्तै वस्तु भेटिएपछि बिहान फाट्टफुट्ट चलेका सवारी साधन पनि अहिले बन्द भएका छन्।
सेतो प्लाष्टिकमा बेरेर राखिएको उक्त वस्तुलाई प्रहरीले घेरेर राखेको छ। त्यस्तै, फुलबारीमा रहेको भारतीय पेन्सन क्याम्पमा पनि शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ।
ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरिक्षक भिमलाल भट्टराईले नयाँमिल र भारतीय पेन्सन क्याम्पमा शंकास्पद वस्तु भेटिएको जानकारी प्राप्त भएपछि प्रहरी टोली पठाइएको जानकारी दिए।
नेकपाले आइतबार नेपाल बन्द आह्वान गरेका कारण बन्द आयोजकले नै बम राखेको हुन सक्ने स्थानीय प्रशासनले बताएको छ ।