नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको नेपाल बन्दले आइतबार बिहानैदेखि दाङको जनजीवन प्रभावित भएको छ। दाङमा यातायात, कलकारखाना, उद्योग धन्दा र बजार ठप्प रहेका छन्।
साना सवारी साधान भने छिटफुट रूपमा सञ्चालनमा आएका छन्।
नेकपाका महासचिव नेत्र विक्रम चन्द (विप्लव)ले शनिबार प्रेस वक्तव्य जारी गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा भएका सन्धि र सम्झौता राष्ट्रियताको विपरीत भएको जिकिर गर्दै नेपाल बन्दको आह्वान गरेका थिए।
विज्ञप्तिमा भारतीय प्रधानमन्त्रीको भ्रमणका क्रममा भएको अरुण–३ को शिलान्यासलाई राष्ट्रघातको संज्ञा दिइएको छ। ‘त्यस्तै मोदीको सिधै जनकपुर आगमन र त्यहाँ गरिएको नागरिक अभिनन्दन, संवेदनशील र रणनीतिक महत्वको मोदीको मुस्ताङ भ्रमण, मोदीको भ्रमणको सुरक्षाका नाममा भारतीय सेनाको नेपाल प्रवेश, हतियार र अत्याधुनिक सैन्य हेलिकप्टर, जहाजको अवतरण, नेपाली सुरक्षा शक्तिलाई मनोवैज्ञानिक रूपमा पार्न खोजिएको हिनताबोधले पुनःनयाँ आयाममा भएको गम्भीर राष्ट्रघात पटाक्षेप हो,’ विज्ञप्तीमा भनिएको छ ।
यस्तै, विज्ञप्तिमा राष्ट्रघातको पछिल्लो शृंखलाको रूपमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण भएको र भ्रमणका क्रममा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अखण्डतामा गम्भीर आघात पुग्ने चरित्र प्रदर्शन गरेको आरोप लगाइएको छ।
उनले आफ्ना कार्यकर्तालाई अनाहकमा पक्राउ गरिएको भन्दै विरोध जनाएका छन्।