प्यूठानमा आइतबार विहान ३ बजे भएको बस दुर्घटनामा चालकको मृत्यु भएको छ। कैलाली जिल्लाको चौमाला ६ निवासी बसका चालक विरबहादुर थारुको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख एवम् डिएसपी राजेन्द्रप्रशाद पोखरेलले मृतकको साथमा फेला परेको लाईसेन्सका आधारमा बसका चालक थारूको मृत्यु भएको अनुमान गरिएको बताए।
त्यस्तै उनले बसमा च्यापिएकी एक महिलाको भने यो खबर तयार पार्दासम्म उद्धार गर्न नसकिएको बताए। ‘हेर्दा मृत्यु भइसकेको जस्तो देखिन्छ, तर बसले च्यापेको हुँदा निकाल्ने अनेक प्रयासगर्दा पनि सकिएको छैन,’ डिएसपी पोखरेलले सेतोपाटीसँग भने।
घटनास्थलमै ३ जना महिला र दुई जना पुरूषको मृत्यु भएको जानकारी दिएका उनले चालक कैलालीका थारूबाहेक अन्य कसैको पनि सनाखत हुन नसकेको जानकारी दिए।
उनले दुर्घटनाका घाईतेमध्ये १८ जनाको जिल्ला अस्पताल विजुवार, चार जना गम्भीर घाईतेको बुटवल र थप तीन जना घाइतेलाई बाँकेको कोहलपुरमा उपचारका लागि पठाइएको बताए।
उनले बसमा कुल ३० जना यात्रु यात्रारत रहेको जानकारी दिए।
महेन्द्रनगरबाट प्युठान जाँदै गरेको महाकाली यातायातको ना ४ ख १८७६ नम्बरको बस आइतबार बिहान तीन बजेतिर प्यूठानको शर्मारानी गाउँपालिका वडा नं. ४ पाकुरीमा दुर्घटनामा हुँदा झन्डै एकसय मिटर तल खसेको थियो।
दुर्घटनास्थल समथल र सजिलो स्थान भए पनि तीन वटा कारणले गर्दा दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ।
दुर्घटनास्थल घुम्ती भएको हुँदा तीव्र गतिका कारण बस खसेको हुन सक्ने , चालक निदाएको हुन सक्ने वा ब्रेक तथा स्टेरिङले काम नगर्दा दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
जो बससँगै खसे पनि सकुशल रहे र उद्धारमा सहयोग गरेआइतबार विहान ३ बजे भएको बस दुर्घटनाबारे प्रहरीलाई १००मा फोन गरि उद्धारमा छिटो आउन आग्रह गर्ने व्यक्ति उक्त बसमा सवार एक जना सुरक्षाकर्मी नै थिए।
प्यूठानका प्रहरी प्रमुख राजेन्द्रप्रसाद पोखरेलका अनुसार पूर्वी रुकुममा कार्यरत सशस्त्र प्रहरीका जवान रमेश भण्डारीले समयमै प्रहरीलाई फोन गरेर घाइते उद्धारमा ठूलो भूमिका खेलका हुन्।
भण्डारी विदामा प्यूठानस्थित घर जाँदै गर्दा दुर्घटनामा परेका थिए। भण्डारी उक्त बससँगै १०० मिटर तल खसे पनि सकुशल रहेको प्रहरीले बताएको छ।
‘भण्डारीले नै १०० मा फोन गरेर तीन बजे राति जानकारी दिएपछि प्रहरी उद्धारमा आउन सजिलो भएको हो। भण्डारीले समयमै खबर नगरेको भए थप क्षति हुने थियो,’ डिएसपी पोखरेलले सेतोपाटीलाई भने।
यसैबीच उनले सबैको उद्धार भइसकेको तथा बुटवल लगिएका चार जना बाहेक अरू खतरा मुक्त रहेको पनि जानकारी दिए।