चितवनमा केही दिनअघि आएको हावाहुरी सहितको असिनापानीले कृषि क्षेत्रमा रु ४२ करोड ५० लाखको क्षति भएको जिल्ला कृषि विकास कार्यालय चितवनले जनाएको छ ।
प्रारम्भिक विवरणअनुसार केरामा मात्रै रु ४० करोडको क्षति भएको र बाँकी तरकारी तथा मकैमा रु दुई करोड ५० लाखको क्षति भएको कार्यालयका प्रमुख सुधिर श्रेष्ठले जानकारी दिएका छन् ।
'अहिलेसम्म साढे ४२ करोड रुपैयाँको क्षति भएको तथ्यांक आएको छ', श्रेष्ठले भने, 'काम जारी रहेको र निवेदन आउने क्रम रहेकाले क्षति अझै बढ्ने अनुमान छ ।'
उनले विवरण संकलनको काम जारी रहेको बताएका छन् । यही वैशाख २३ गते रातिको भीषण हावाहुरी र असिनापानीले चितवनको कृषि क्षेत्रमा यसरी नोक्सान गरेको हो ।
चितवन केरा उत्पादक संघका अध्यक्ष विष्णुहरि पन्तले चितवनको कालिका नगरपालिकास्थित साबिक पदमपुर गाविसमा मात्रै रु २० करोडको केरा क्षति भएको बताएका छन् । त्यसपछि रत्ननगर, जुटपानी, जमुनापुर, चैनपुर र ठिमुरामा केरा क्षति भएको छ ।
उनले ६२० केरा किसानमध्ये करीब ५०० जनाको क्षति भएको जानकारी दिँदै अहिलेसम्म बीमा गरेका १६५ किसानमध्ये १६० जनाले क्षतिपूर्तिका लागि निवेदन दिएको बताए । अरू सयौँ किसानको बीमा नहुँदा ठूलो क्षति बेहोर्न बाध्य छन् ।
उनीहरुले सरकारबाट राहत पाउनुपर्ने माग गर्दै आएका छन् । बीमा गर्ने शिखर इन्सुरेन्स कम्पनीले शतप्रतोशत क्षति भएका किसानका लागि एक महिनाभित्र क्षतिपूर्ति दिनेगरी स्थालगत अनुगमन गरिरहेको पन्तको भनाइ छ । पन्तले सात बिघामा गरेको केरा खेतीमा ५० प्रतिशत र अर्काे १६ विघाको प्लटमा २५ प्रतिशत केरा क्षति भएको बताए ।
त्यस्तै स्थानीयवासी शंकर सुवेदीले करीब रु ६० लाखभन्दा बढीको केरा क्षति भएको दाबी गरे । यो क्षतिलाई बितेका २३ वर्षमा भएको सबैभन्दा ठूलो नोक्सानी मानिएको छ ।