विपत् व्यवस्थापनका लागि उपयोगी हुने सामग्री भण्डारण र प्रकोप पूर्व तयारीका लागि बुटवलमा प्रदेशस्तरीय सहायता कक्ष बन्ने भएको छ।
बुटवल उपमहानगरपालिका परिसरमा यो भण्डारण केन्द्र रहने छ। विपत् व्यवस्थापनका लागि तालिम प्राप्त प्राविधिकसहित अत्यावश्यक सामग्रीहरू भण्डारण गरिने छ।
सोही विषयमा उपमहानगरपालिका र संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष यूएनएफपिएकाबीच बिहिबार सम्झौता भएको छ। उपमहानगरले विपत व्यवस्थापनका लागि आफैंले योजना बनाइरहेका बेलामा यूएनएफपिएले बुटवलमै प्रदेशस्तरको भण्डारण केन्द्र स्थापनाको प्रस्ताव गरेपछि स्वागत गर्दै सम्झौता गरिएको नगरप्रमुख शिवराज सुवेदीले जानकारी दिए।
उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी र यूएनएफपिएका क्रिस्टिन व्लकहुससहितको टोलीकाबीचमा बिहिबार सम्झौता भएको छ।
यी दुई बीचको सम्झौताको रोहवरमा पाँच नम्बर प्रदेश सरकार रहेको छ। उक्त सरकारका तर्फबाट सामाजिक विकास मन्त्रालयको स्वास्थ्य शाखाका उमाशंकर चौधरीले प्रतिनिधित्व गरेका थिए।
सम्झौतासँगै अब बुटवलमा यूएनएफपिएले विपत् व्यवस्थापनका लागि आवश्यक उद्दार सामग्रीसहितका दुई ठूला कन्टेनरहरू राख्ने छ। तीमध्ये अधिकांश सामग्रीहरू विपतका बेलामा किशोरी र महिलाहरूको उद्धार र उनीहरूका लागि लक्षित रहने बताइएको छ।
‘कुनै पनि विपतसँगै महिला र बालिकाहरू अर्को हिंसामा पर्ने खतरा बढ्ने भएकोले उनीहरूलाई आवश्यक पर्ने सामग्रीहरू धेरै हुनेछन्।’ यूएनएफपिएका नेपाल उपप्रमुख क्रिस्टिन व्लकहुसले बताइन्।
योसँगै रेडक्रसको उच्चस्तरीय प्राविधिक टोलीले उपमहानगरपालिकामै रहेर विपत् व्यवस्थापनको तालिम समेत दिने छ। यो कामको प्राविधिक सहयोग समेत यूएनएफपिएले गर्ने यूएनएफपिएका प्रतिनिधि राम थापाले जानकारी दिए।
अहिले भएको सामग्री र तयारी अपूर्ण भएकाले पनि दाताहरूको खोजी गर्ने र थप योजना बनाउने गरी काम अगडि बढाएको नगर प्रमुख सुवेदीले बताए। सामग्रीको पूर्व भण्डारणका साथै विपत् व्यवस्थापन प्राविधिक सहयोग हुने गरी दाताहरू आएको उनले दाबी गरे ।