हिन्दु युवा संघका संस्थापक अध्यक्ष काशी तिवारीको हत्यामा जन्मकैदको सजाय पाएका सीयाराम कुशवाहालाई प्रहरीले पक्राउ गरेको छ।
रौतहटको कटहरिया नगरपालिकाका मेयर समेत रहेका कुशवहालाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले बिहिवार काठमाडौंबाट पक्राउ गरेको डिआइजी पुस्कर कार्कीले सेतोपाटीलाई जानकारी दिए।
जिल्ला अदालत बाराले दिएको सफाइ उल्टाउँदै जनकपुर उच्च अदालतले कुशवहालाई जन्मकैदको सजाय सुनाएको थियो।
उनी माओवादीबाट कटहरिया नगरपालिकामा मेयरमा निर्वाचित भएका थिए।
वीरगञ्ज–१३ मसानघाट शिवपार्वती मन्दिर नजिकै १२ असार २०६७ मा हिन्दु युवा संघका संस्थापक अध्यक्ष तिवारीको हत्या भएको थियो। हत्या आरोपी २८ वर्षीय कुशवाहा रौतहटको हथियाही–५ जमुनिया टोलाका बासिन्दा हुन्।
अर्का अभियुक्त बारा हरैया–८ का २५ वर्षीय अमनप्रसाद कुशवाहालाई पक्राउ गरी वीरगञ्ज कारागारमा चलान गरिसकिएको छ। उनलाई २२ भदौ २०६८ मा प्रहरीले पक्राउ गरेको थियो । अमनकै वयानका आधारमा सीताराम कुशवहा पनि पक्राउ परेको प्रहरीले जनाएको छ।
अमनले चलाएको मोटरसाईकल पछाडी बसी तिवारीलाई गोली प्रहार गरेका सीयाराम घटनापछि फरार भएका थिए।