३३ किलो सुनकाण्ड र सनम शाक्य हत्याकाण्डबारे छानबिन गर्न बनेको समितिले सुन तस्करीका नाइके भनिएका चुडामणि उप्रेती 'गोरे' को समूहका व्यक्तिको सम्पत्ति खोज्न थालेको छ।
समितिको छानबिनका आधारमा गत साता जिल्ला सरकारी वकिलको कार्यालय मोरङले नेपाल प्रहरीका ९ अधिकारी र गोरे समूहका गरी ६३ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।
पक्राउ परेका ८ प्रहरीसहित ३० जनालाई अदालतमा पेस गरेपछि उनीहरूको सम्पत्ति खोजीमा समिति जुटेको हो। सुन तस्करीमा संलग्न भनिएकाको सम्पत्ति नदेखिएपछि त्यसको खोजीमा समिति जुटेको स्रोतले बतायो।
'तस्करीको सुन नेपाल भित्र्याउने र व्यवस्थापन गर्ने गोरे, प्रहरी र भरियाले अवैध तरिकाबाट आर्जेको सम्पत्ति कतै देखिएन। हामी अहिले उनीहरूको सम्पत्ति खोज्दैछौं ,' समिति स्रोतले भन्यो।
गोरेका मुख्य सहयोगी टेकबहादुर मल्ल, हत्या गरिएका सनम शाक्य र सुनमा लगानी गर्ने भुजुङ गुरुङको सम्पत्ति अनुमान गरिएजति नदेखिएको स्रोतले बतायो। भुजुङ राप्रपाका केन्द्रीय सदस्य हुन्।
‘विभिन्न मितिमा एकै जनाको नाममा सयौं किलो सुन आएको देखिन्छ, ल्याएको सुन कहाँ गयो र उनीहरूले पाउने रकम केमा लगानी गरे भन्ने कतै देखिदैंन,' स्रोतले सेतोपाटीसँग भन्यो, 'समितिका सदस्यहरू उनीहरूको सम्पत्ति खोज्न व्यस्त छन्।’
गोरेको सुन तस्करी धन्दालाई सघाएको भन्दै नेपाल प्रहरीका पूर्वडिआइजी गोविन्द निरौला, एसएसपी श्याम खत्री, एसपी विकासराज खनाल र डिएसपी सञ्जय राउतलगायत ६ प्रहरीको सम्पत्ति विवरण समितिले हेरेको थियो।
तस्करीको सुन किन्न लगानी गर्ने राप्रपाका केन्द्रीय सदस्य गुरुङलगायतको सम्पत्ति विवरण हेर्दा समितिलाई चित्त नबुझेपछि त्यसको खोजीमा आफूहरु जुटेको अनुसन्धानमा संलग्न एक अधिकारीले बताए। उनका अनुसार तस्करीमा संलग्न प्रहरी कर्मचारीले भने ब्याजमा रकम लगानी गरेको देखिएको छ।
'सुन बोक्ने र सुनको व्यवस्थापन गर्नेहरूले रक्सी र युवतीमा मात्र रकम खर्चेको देखिन्छ। सबै त्यसैमा त पक्कै सकेनन् होला। के कुरामा पैसा गएको छ त्यसको अनुसन्धान गर्दैछौं,' ती अधिकारीले भने।
तस्करीको सुन व्यवस्थापन गर्ने गोरे अहिले फरार छन्।
'गोरे पक्राउ परेपछि धेरै कुरा खुल्ला,' समिति स्रोतले भन्यो, ‘अहिले पक्राउ परेका अभियुक्तहरूले सम्पत्ति लुकाएको देखियो।'
पक्राउ परेका अभियुक्त, गोरेका आफन्त र कारोबार गर्ने व्यवसायीलाई समितिले बोलाएर सोधपुछ थालेको छ। गोरे समूहमा संलग्नहरूको कारोबारलाई केलाएर हेर्ने काम सुरू भएको स्रोतले बतायो।
'यो समूह कारोबार गर्नेहरू सबैजना दोषी नहुन सक्छन्,कसैलाई उनीहरूको कुरा थाहा नहुन सक्छ, त्यसैले उनीहरूले कहाँ, के किनमेल गर्थे र कुन व्यवसायमा लगानी गरेका छन् त्यो पनि केलाउने काम हुँदैछ,' स्रोतले भन्यो।