भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ भ्रमणका बेला २० घण्टा भक्तजनले मुक्तिनाथ मन्दिरमा पूजाआजा गर्न नपाउने भएका छन्।
मोदीको सुरक्षार्थ र मन्दिर सजावट तयारीका लागि भन्दै स्थानीय प्रशासनले २८ गते बेलुकी ४ बजेदेखि २९ गते दिउँसो १२ बजेसम्म भक्तजनका लागि मन्दिर प्रवेशमा रोक लगाएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले जानकारी दिए।
'मुस्ताङ नै बन्द हुने हल्ला चलेको रहेछ त्यो साँचो होइन' उनले सेतोपाटीसँग भने, 'मन्दिर प्रवेशमा केही समय मात्रै रोक लगाएका छौं।थोरङ्ला पास गरी आवतजावत गर्न रोक लगाएको छैन।'
यसअघि पदयात्रीलाई थोरङ्ला पास गर्न रोक लगाइएको थियो। पर्यटन व्यवसायमा असर पर्ने भन्दै विरोध भएपछि स्थानीय प्रशासन पछि हटेको हो। मुक्तिनाथमा मोदीले पूजाआजा गर्ने र नागरिक अभिन्दन पनि गर्ने कार्यक्रम छ।