भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले अधिग्रहण गरेका जग्गाधनीले मुआब्जा वितवरण छिटो गर्न आग्रह गरेका छन्।
मंगलबार भैरहवामा आयोजित कार्यक्रममा उनीहरूले अधिग्रहणमा परेको लामो समयसम्म पनि मुआब्जा नपाउनु दुखद् भएको बताए।
१ हजार ७ सय ६५ परिवारको जग्गा अधिग्रहण गरिएकोमा अहिलेसम्म २० प्रतिशत परिवारले मात्रै मुआब्जा पाएका छन्।
गौतमबुद्ध विमानस्थल आयोजनाका प्रमुख ओम शर्माले मुआब्जाका लागि तीन वर्षअघि २३ अर्ब रुपैयाँ अनुमान गरिएकोमा हालसम्म ६ अर्ब रुपैयां मात्रै वितरण भएको बताए।
उनले यही आर्थिक वर्षभित्र ५ अर्ब बाँढ्नका लागि अर्थ मन्त्रालयबाट निकासा भईसकेको जानकारी दिए। स्थानीयले भने मुआब्जा वितरणमा ढिलाई भएको भन्दै आक्रोश पोखेका छन्।
स्थानीयले क्रमसंख्या अनुसार र एकमुष्ट मुआब्जा दिन माग गरेका छन्। मुआब्जामा सरकारले लाभकर लिएकोमा पनि असन्तुष्टी जनाउँदै लाभकर फिर्ता दिन उनीहरुले माग गरेका छन् ।
स्थानीय फैज अहमद खाँनले मुआब्जा वितरणमा ढिलाई गर्दा स्थानीय जग्गाधनी मारमा परेको बताए। स्थानीय बैजनाथ गुप्ताले आयोजनाले मुआब्जा वितरणमा विभेद गरेको र टाठाबाठालाई मात्र वितरण गरेको गुनासो गरे।
जग्गाधनी ज्ञानराज पाण्डेले सर्वसाधारणलाई आयोजनाले मुआब्जा दिन आनाकानी गरेको तर जग्गा प्लटिङ गर्ने व्यवसायीलाई चलखेलका आधारमा मुआब्जा वितरण गरिरहेको आरोप लगाए।
काठमाडौंको एकमात्र अन्तराष्ट्रिय विमानस्थलको विकल्पको रुपमा लिइएको यो विमानस्थलको काम सन् २०१७ मै सक्ने लक्ष्य लिइएको भए पनि चिनियाँ ठेकेदार र नेपाली ठेकेदारबीच लेनदेन विवाद, निर्माण सामग्रीको अभाव, मधेश आन्दोलन लगायतका कारण निर्माणमा ढिलाई भएको छ।
हालसम्म विमानस्थलको करिब ४० प्रतिशत काम पूरा भएको आयोजना प्रमुख ओम शर्माले बताए ।
स्थानीयको गुनासो सुनेपछि रुपन्देही ३ का प्रतिनिधि सभा सदस्य घनश्याम भुसालले सबै जग्गाधनीलाई एकमुष्ट मुआब्जा वितरणका लागि आफूले अर्थमन्त्रीसँग अनुरोध गरेको बताए।
उनले अधिग्रहण पीडित परिवारका छोरीछोरीलाई विमानस्थलमा रोजगारी दिलाउन सक्दो प्रयास गर्ने बताए।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि अधिकारीले मुआब्जा वितरणका लागि गठित प्रमुख जिल्ला अधिकारी संयोजकत्वको समितिले प्रभावकारी ढंगले काम नगर्दा ढिला भएको स्वीकार गरे।
२०७१ सालदेखि स्तरोन्नतिको काम शुरु भएको विमानस्थल २०७५ साउन भित्र सम्पन्न गर्ने लक्ष्य छ।
सन् २०१९ सेप्टेम्बरदेखि अन्तर्राष्ट्रिय उडान भर्ने लक्ष्य रहेको विमानस्थलमा २०१८ डिसेम्बरसम्म टर्मिनल भवन र २०७५ चैतभित्र धावनमार्ग निर्माण पूरा गर्ने लक्ष्य छ।
यो विमानस्थल निर्माण सम्पन्न भएपछि दैनिक १६ देखि २५ हजार यात्रु अवतरण गर्ने अनुमान छ। विमानस्थल स्तरोन्नति भएपछि रूपन्देहीमा २ लाख बढीले रोजगारी पाउने अपेक्षा गरिएको छ।
२०२३ सालमा भारत सरकारको सहयोगमा निर्मित गौतमबुद्ध बिमानस्थललाई स्तरोन्नती गर्न चीनको नर्थ वेस्ट कम्पनिले ६ अर्ब २२ करोड ५१ लाख २० हजार दुई सय २७ रुपैयाँमा ग्लोबल टेन्डरबाट सन् २०१७ डिसेम्बर ३१ सम्म सम्पन्न गर्ने सम्झौता गरेको थियो।
एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सुरु भएको हो।