सुर्खेतको वीरेन्द्रनगरमा रहेको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल करिब १२ वर्ष अघिसम्म जिल्ला अस्पतालका रूपमा सञ्चालन भैरहेको थियो । साविकको मध्यपश्चिम क्षेत्रका नागरिकलाई विशेषज्ञसहितको सेवा दिने गरी अस्पतालको विकास गर्ने योजनासहित २०६२ सालतिर यसलाई मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालका रूपमा नामाकरण गरिएको थियो।
नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा पुर्याउने उद्देश्यका साथ स्थापना भएको अस्पतालको अघि क्षेत्रीय थियो तर सेवासुविधा जिल्ला अस्पतालको जति पनि थिएन। पछिल्लो एक वर्षमा भौतिक रूपमा अस्पतालको मुहार फेरिन थाले पनि दरबन्दी अनुसारको विशेषज्ञ सेवा भने छैन ।
सुरूमा ५० शय्याको स्वीकृति पाएको अस्पतालले अहिले ११५ शय्याबाट सेवा प्रवाह गर्दै आएको छ। अस्पतालको लक्ष्य ३५० शय्या पुर्याउने योजना छ। भौतिक रूपमा अस्पताल अब्बल देखिँदै आएपनि जनशक्ति अभावका कारण अस्पतालको विशेषज्ञ सेवा भने भरपर्दो छैन।
मध्यपपश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा २४ जना विशेषज्ञ चिकित्सकहरूको दरबन्दी भएता पनि ७ जना विशेषज्ञ चिकित्सक मात्र छन्। त्यसमा पनि दुईजना करार सेवामा रहेका छन्। जसले गर्दा सेवा प्रभावित भइरहेको छ।
अस्पतालले दिने स्त्री रोग, फिजिसियनसम्बन्धी सेवा, छाला रोग, मानसिक रोग, अपरेशनलगायतका सेवामा समस्या आउने गरेको अस्पतालका मेडिकल रेकर्डर विनोद बस्नेतले बताए।
‘सबैभन्दा बढी स्त्री रोगसम्बन्धी बिरामी आउँछन्, विशेषज्ञ चिकित्सक पर्याप्त नहुँदा सेवा दिन समस्या भएको छ,’ बस्नेतले भने,‘सबैभन्दा गाह्रो त अपेरशन गर्दाखेरी चाहिने एनस्थेसिष्ट छैनन्, यी सेवाहरूमा विशेषगरी अभाव खड्किरहेको छ।’
प्रदेशमा पहिलो पटक डायलासिस सेवा सुरू गरिएको छ। डायलासिस गर्न सरकारले दुई मेसिन दिएको छ भने अस्पतालले पनि दुइटा मेसिन किनेको छ । अस्पतालले अहिले आइसियू, एनआइसियू पनि सञ्चालन गरेको छ । तर, यसका लागि चाहिने फिजिसियन डाक्टर एकजना मात्र हुँदा गुणस्तरीय सेवा दिन समस्या भैरहेको छ।
‘अस्पतालले सेवा विस्तार गरिरहेको छ, तर ल्याब्रोटरीतर्फ प्याथोलोजिष्ट नै हुनुहुन्न, ’ मेडिकल रेकर्डर बस्नेतले भने,‘सबैभन्दा ठूलो समस्या भनेको त अस्पतालमा रेडियोजोजिष्ट नै हुनुहुन्न, यसले गर्दा सेवा प्रवाहमा समस्या भैरहेको छ।’
उनले अस्पतालमा विशेषज्ञहरूको अभाव खड्किरहेको बताए।
बस्नेतका अनुसार क्षेत्रीय अस्पतालमा छालारोग, मानसिक रोगलगायतका सम्बन्धित विशेषज्ञ नै छैनन्।
क्षेत्रीय अस्पतालमा अहिले डाइग्नोलोजिष्ट १ जना, अर्थोपेडिक सर्जन दुईजना, जनरल सर्जन एक जना, फिजिसियन एक जना, बालरोग विशेषज्ञ २ जना गरी ७ जना विशेषज्ञ चिकित्सक कार्यरत छन् । जसमध्ये एक जना डाइग्नोलोजिष्ट, एक जना फिजिसियन अस्पतालको दरबन्दीमा काम गरिरहेका छन् भने एक जना अर्थोपेडिक सर्जन र एक जना जनरल सर्जन गरी दुई जना विशेषज्ञ चिकित्सक काजमा रहेका छन् । यस्तै, एक जना अर्थोपेडिक सर्जन र दुईजना बालरोग विशेषज्ञ करारमा काम गरिरहेका छन्।
अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर डम्मर खड्काले सरकारले अस्पतालहरूको अवलोकन तथा व्यवस्थापनमा जोड नदिएका कारण दरबन्दी अनुसारको जनशक्ति पूर्ति हुन नसकेको बताए।
स्वास्थ्य क्षेत्रमा देशको प्रणालीमा सुधार नभएसम्म चाहेर पनि दरबन्दी अनुसारको जनशक्ति प्राप्त हुन नसक्ने डाक्टर खड्काको भनाइ छ।
सरकारले अस्पतालहरूको अनुगमन नगरेकोले पनि समस्या आउने गरेको उनले बताए।
‘म यहाँ काम गरुँ या नगरुँ मेरो हाजिर भयो भने मेरो जागिर पाक्छ,’ मेडिकल सुपरिटेण्डेण्ट खड्काले भने,‘अस्पतालको अवस्था, जनशक्तिले गरेको कामको मूल्याङ्कन छैन, यस कारण पनि समस्या छ।’
मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अनुगमनका लागि मन्त्रालयसँग अनुरोध गरे पनि अहिलेसम्म माग पुरा नभएको खड्काले बताए । उनका अनुसार विगत ६ वर्षदेखि उक्त अस्पतालको अनुगमन गरिएको छैन।
यता, कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले संविधानमा क्षेत्रीय भन्ने नभएको र प्रदेश सरकारको मातहतमा पनि अस्पताल नआइसकेका कारण तत्कालै समस्या समाधानका लागि सरकार लाग्न नसक्ने उल्लेख गरेका छन्।
‘मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई शिक्षण अस्पतालका रूपमा समेत विकास गर्न सकिएमा जनशक्तिको अभाव रहँदैन,उनले भने, ‘हामीले क्षेत्रीय अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास गर्दै प्रदेशभर दक्ष जनशक्ति पूर्ति गर्ने योजना बनाएका छौं।’
उनले जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठाँसंग समन्वय गरेर मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई विकास गरिने समेत बताएका छन्।