पर्साको जिराभवानीमा प्रहरी र स्थानीयबीच भएको झडपमा प्रहरीले दर्जनौं राउन्ड हवाई फायर गरेको छ।
मापसे गरी नेपालबाट भारत जादै गरेका चार जना युवालाई ड्यूटीमा रहेका प्रहरीले रोक्न खोज्दा प्रहरीमाथि नै अभद्र व्यवहार गरेकाले उनीहरूलाई नियन्त्रणमा लिए पछि घटना भएको हो।
प्रहरीले उनीहरूसँगै मोबाइल चोरी गर्ने दुई जनालाई पनि नियन्त्रणमा लिएको थियो।
अनुसन्धानका लागि उनीहरूलाई इलाका प्रहरी कार्यालय पोखरीया पठाउन लागेको थाहा पाएर जिराभवानी गाउँपालिकाका उपाध्यक्षसहित करिब २५० स्थानीय आएर नियन्त्रणमा लिएकालाई तत्काल छोड्न दबाब दिएका थिए।
त्यसपछि इलाका प्रहरी कार्यालय पोखरीया, इलाका प्रहरी कार्यालय जानकरी टोल, प्रहरी चौकी शंकरसरैया, पाण्डेपुर, महादेवपट्टी, सशस्त्र प्रहरी र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको नेतृत्वमा ६१ जनाको प्रहरी टोली खटेको थियो।
करिब साढे १२ बजेसम्म पनि उनीहरूलाई सम्झाइ गर्दा समेत नमानेको र अवरोध गर्नेको संख्या बढ्दै गएकाले प्रहरीले लाठी चार्ज गरेर भीडलाई तितर बितर बनाएको प्रहरीले जनाएको छ।
करिब साढे तीन बजे फेरि करिब २ सयको संख्यामा स्थानीय आएर प्रहरीको प्रतिक्षालय तथा गाडी तोडफोड गर्न थालेपछि प्रहरीले जवाफी कारबाही गरेको थियो।
२३ शेल अश्रु ग्यास, ९ राउन्ड सर्ट गनबाट हवाइ फायर र १०३ राईफलबाट १० राउण्ड हवाई फायर तथा पेस्तोलबाट ८ राउन्ड हवाई फायर गर्दै भीडलाई नियत्र्णमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
आक्रोशित भीडले प्रहरीको दुई वटा मोटरसाइकलमासमेत तोडफोड र आगजनी गरेका थिए। त्यस्तै गाडीमा समेत तोडफोड भएको प्रहरीले जनाएको छ।
उक्त घटनामा प्रहरी नायब निरीक्षक राजेश चौधरीसहित ५ जना प्रहरी घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल लगिएको छ। यस्तै अवरोध गर्ने भीडबाट पनि केही व्यक्ति घाइते भएको प्रहरीले जानकारी दिएको छ।
यसैबीच प्रहरीले सुपा लामासहित ६ जना स्थानीयलाई नियन्त्रणमा लिएको छ।
घटनास्थल इलाका प्रहरी कार्यालय पोखरीयाबाट करिब १५ किमी दक्षिण पश्चिममा पर्छ।