मदिरा सेवन गरेर एउटै मोटरसाइकलमा सवार ४ जना भारतीय नागरिक र दुईजना मोबाइल चोरलाई छुटाउन दबाब दिँदै पर्साको जिराभवानी गाउँपालिकाकी उपाध्यक्ष उषा चौधरीको टोलीले प्रहरीमाथि आक्रमण गरेको अभियोगमा उनलाई पक्राउ गरिएको छ।
उपाध्यक्ष चौधरीको नेतृत्वमा प्रहरी चौकीमा आक्रमण गरेको तथा प्रहरी जवानहरूलाई कुटपिट गरेको भन्दै पर्सा प्रहरीले उनीसहित ६ जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको पर्सा प्रहरी प्रवक्ता डिएसपी राजन लिम्बुले बताए।
सोही विषयलाई लिएर आइतबार राति स्थानीय र प्रहरीबीच झडप भएको थियो।
झडपमा प्रहरी नायब निरीक्षक राजेश चौधरीसहित ५ प्रहरी घाइते भएका छन्। भीडलाई नियन्त्रणमा लिन प्रहरीले एक दर्जन भन्दा बढी अश्रुग्यास र हवाई फायर समेत गरेको थियो।