सरकारले यस वर्षको राष्ट्रिय पत्रकारिता पुरस्कार महेन्द्र विष्ट र राजेश अहिराजलाई प्रदान गर्ने भएको छ।
सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटाले यस वर्षको राष्ट्रिय पत्रकारिता पुरस्कार विष्ट र अहिराजलाई दिने निर्णय गरिएको जानकारी दिएका हुन्।
सोमबार राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा सरकारले सो पुरस्कार वितरण गर्ने योजना बनाएको छ।
त्यसैगरी, सरकारले वरिष्ठ पत्रकारको सम्मान भने बबिता बस्नेत, नीमबहादुर बुढाथोकी र कौशल चेम्जोङलाई दिने भएको छ। राज्यमन्त्री बास्कोटाले प्रेस स्वतन्त्रता हनन् हुन नदिने प्रतिबद्धता पनि व्यक्त गरे।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मर्यादित ढंगले पत्रकारिता गर्न भने संचारकर्मीहरूको गम्भिर ध्यानाकर्षण गराए। राज्यमन्त्री बाँस्कोटाले प्रेस स्वतन्त्रता हनन् हुन्छ कि भनेर चिन्ता लिने अवस्था नरहेको पनि बताए।
सरकारले राष्ट्रिय पत्रकारिता दिवसको अवसर पारेर पत्रकारहरूलाई हरेक वर्ष सम्मान गर्दै आएको छ।