दाङमा सिण्डिकेट खारेजीको विरोधमा यातायात हड्तालमा उत्रिएको भन्दै पक्राउ गरिएका सबै कर्मचारी रिहा भएका छन्।
दाङ प्रहरीले जिल्लाको विभिन्न स्थानबाट शुक्रबार रातिसम्म सात जनालाई पक्राउ गरेको थियो। उनीहरूलाई अबदेखि यातायात बन्द गर्ने छैनौं भन्ने कबुलियतनामा कागज गराएर रिहा गरिएको जिल्ला प्रहरी कार्यालय दाङकी प्रमुख एसपी दुर्गा सिंहले जानकारी दिएकी छन्। ‘ अबदेखि त्यस्तो गल्ती गर्ने छैनौं भन्ने कागज गराएर रिहा गरिएको हो,’ एसपी सिंहले भनिन्।
प्रहरीले शुक्रबार राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिका सदस्य ४८ वर्षीय रामचरण ओलीलाई घोराही उपमहानगरपालिका वडा नम्बर १० बाट, घोराही १५ बाट सोही समितिकै दुर्घटना प्रमुख ५० वर्षीय गणेश पाण्डे, स्वर्गद्धारी ट्रिपर व्यवसायी समिति दाङका दुर्घटना प्रमुख ४६ वर्षीय रवीन्द्रकुमार बराललाई घोराही १७ बाट पक्राउ गरिएको थियो।
त्यस्तै, तुलसीपुर क्षेत्रबाट पक्राउ परेका तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ निवासी ४६ वर्षीय जिप तथा मिनी माइक्रो बस व्यवसायी समितिका उपाध्यक्ष डिल्ली भण्डारी, तुलसीपुर ५ निवासी राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिका कर्मचारी ४१ वर्षीय कृष्ण केसी, उक्त समितिकै डायल इञ्चार्ज तुलसीपुर ६ निवासी ५२ वर्षीय मोहन पुरी र सोही समितिकै तुलसीपुर ६ कै ५१ वर्षीय कार्यालय प्रमुख सिताराम शर्मालाई रिहा गरिएको प्रहरीले जानकारी दिएको छ।
उनीहरू सबैलाई शनिबार साँझ अबेरमा रिहा गरिएको थियो ।