यातायात समितिलाई कम्पनीमा दर्ता गर्ने र सवारी साधन सञ्चालन गर्ने लिखित प्रतिबद्धता जनाएपछि पक्राउ परेका यातायात व्यवसायी रिहा भएका छन् ।
सिन्डिकेटको माग गर्दै यातायात बन्द गर्ने पूर्व नेपाल यातायात व्यवसायी संघ र कोशी बस व्यवसायी संघआबद्ध तीन व्यवसायीलाई आज बिहान प्रहरीले पक्राउ गरेको थियो । पूर्व नेपाल यातायात व्यवसायी संघका उपाध्यक्ष उत्तम चौलागाई र टीका भट्टराई तथा कोशी बस व्यवसायी संघका नारायण अधिकारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले व्यवसायलाई कम्पनीका रुपमा दर्ता गर्ने र सवारी सञ्चालनमा अवरोध नगर्ने लिखित प्रतिबद्धता जनाएपछि उनीहरुलाई रिहा गरिएको बताए।
मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुणकुमार बिसीले अप्सरा यातायातले कम्पनीमा दर्ता हुने र सवारी साधन सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको जानकारी दिएका छन् ।
विभिन्न यातायात समितिले हिजोदेखि बन्द गरेको सार्वजनिक यातायात आजदेखि सञ्चालनमा आएका छन् । विराटनगरबाट छोटो तथा लामो दूरीको बस तथा रात्रिबस सञ्चालनमा आएका छन् ।
यस्तै काठमाडौंबाट नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सहित पाँच जनालाई प्रहरीले आज पक्राउ गरेको छ। महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले अध्यक्ष योगेन्द्रमान कर्माचार्य सहित पाँच जनालाई बानेश्वरबाट नियन्त्रणमा लिएको हो। यातायात व्यवसायमा सिन्डिकेट गरेको अभियोगमा अपाध्यक्ष विजय स्वाँर, किरण खड्का, धर्म धिताललाई पक्राउ गरेको प्रहरीले जनाएको छ।