दक्षिणकाली नगरपालिकाले दक्षिणकाली-रत्नपार्क रुटमा १४ वटा नयाँ बस चलाउन थालेको छ। नगरपालिकाले संयोजनमा शुक्रबार साँझदेखि बस चल्न थालेका हुन्।
बल्खुमा काठमाडौं- १० का सांसद राजन केसी र दक्षिणकालीका मेयर मोहन बस्नेतले बस सेवाको उद्घाटन गरे।
नगरपालिकाले अग्रसरता लिएर सो क्षेत्रका यातायात व्यवसायीसँग मिलेर नयाँ बस सञ्चालनमा ल्याइएको मेयर बस्नेतले सेतोपाटीलाई जानकारी दिए।
लामो समयदेखि दक्षिणकालीका जनताको नयाँ बस चढ्ने इच्छा आज पूरा भएको उनले बताए।
‘धेरै प्रयासपछि यो अवसर जुरेको हो। आजकै दिनदेखि सुरु गर्ने पूर्वनिर्धारित योजना नभए पनि हामीले सुरू गरेका हौं,' उनले भने, ‘दक्षिणकालीका जनताको नयाँ बस चढ्ने इच्छा पूरा भएको छ।’
बस सञ्चालनमा नगरपालिकाले संयोजनमात्र गरेको र नयाँ बसको कम्पनी छिटै दर्ता हुने उनले जानकारी दिए।
नगरपालिकामा ५० वटा बस आवश्यक भए पनि पहिलो चरणमा १४ वटा सञ्चालन ल्याइएको बस्नेतले बताए।
'हेटौंडातिर जाने सुमो पनि दक्षिणकालीबाट छुट्ने व्यवस्था गर्दैछौं, त्यसका लागि पनि नयाँ बस चलाउन आवश्यक छ,' मेयर बस्नेतले भने।