रातो मछिन्द्रनाथको गुठीलाई पशुपतिनाथको गुठी पछिको नेपालको दोस्रो धेरै सम्पति भएको गुठी मानिए पनि गुठीका नाममा कति सम्पत्ति छ भन्ने अहिलेसम्म यकिन हुनसकेको छैन ।
गुठीको जग्गा संरक्षण र रातो मछिन्द्रनाथको जात्रा सञ्चालनको जिम्मेवार निकाय गुठी संस्थान ललितपुर शाखा यसबारे अनभिज्ञ छ ।
जिल्लाका साविक ४१ गाविसमध्ये आधा भन्दा बढी र साविक ललितपुर उपमहानगरपालिकाका कतिपय वडामा रातो मछिन्द्रनाथको नाममा थुप्रै जग्गा रहेको ललितपुरवासीको भनाइ छ ।
साढे दुई दशक पहिलेसम्म तीन हजार रोपनीभन्दा बढी जग्गा विभिन्न स्थानमा रहेको पाइएको ज्योतिष दैवज्ञ कीर्तिमदन जोशीले बताए। उनका बुबाले विभिन्न स्थानमा रहेको जग्गा कहाँ र कति छ भनेर लेखेर गुठी संस्थान ललितपुर शाखामा दिएका थिए। ‘बुबा बितेपछि न त अरू कसैले चासो देखाएको पाइयो न गुठीले नै आफ्नो सम्पत्ति खोजी गरेको छ,’ उनले भने।
गुठीको स्वामित्वमा रहेको मछिन्द्रनाथको नाममा झण्डै डेढ सय रोपनी तौनाथी जग्गा रहेको शाखाका प्रमुख शैलेन्द्र पौडेलले बताए। ‘यो मोही पनि नलागेको जग्गा हो । आम्दानीका हिसाबले यो जग्गालाई सबैभन्दा महत्वपूर्ण जग्गा मानिन्छ,’ उनले भने, ‘तर ती जग्गाबाट पनि हामीले फाइदा लिनसकेका छैनौं।’
गुठीका नाममा भएका जग्गा वा कवल कुनै पनि कार्यालयले चलन चल्तीको भाडामा लगाउन नसक्दा आम्दानी गर्न नसकेको हो। रातो मछिन्द्रनाथको जस्तै अरू विभिन्न मठ मन्दिरका जग्गाबाट पनि गुठीले आम्दानी लिनसकेको छैन ।
गुठीका नाममा भएको ३९५ रोपनी ६ आना १ दाम जग्गामा मोही लागेको छ। मोही लागेका जग्गामध्ये कतिपयमा रकम आफैंले र कतिमा गुठीले आयस्था लिने गरेको छ। झण्डै डेढसय भन्दा बढी जग्गा मछिन्द्रनाथ गुठीको भए पनि दर्ता हुन नै बाँकी रहेको प्रमुख पौडेलले बताए।
बोसी (मछिन्द्रनाथको जात्रामा रथका लागि काठ काट्ने जाती) का लागि छुट्याइएको १४४ रोपनी जग्गा दर्ता हुन बाँकी छ। उनी भन्छन्, ‘कतिपय जग्गा दर्ताको प्रक्रियामा भए पनि प्रक्रिया लामो र झन्झटिलो छ’ अझै धेरै जग्गा दर्ता हुन बाँकी छ।’
गुठीको जग्गा रैतानी (व्यक्तिगत) गर्न नपाउने नियम बन्नु पहिले मछिन्द्रनाथको जग्गा पनि रैतानी भयो। ६ यस १ रोपनी ६ आना १ दाम जग्गा रैतानी भएको गुठीको तथ्यांकले देखाएको छ। रैतानी जग्गाको रकम अक्षयकोषका रुपमा राखिएको छ। त्यो पनि जात्रा सञ्चालनका लागि खर्च हुन्छ।
मछिन्द्रनाथको आम्दानीले जात्रा धान्दै आएको उल्लेख गर्दै प्रमुख पौडेलले भने,‘मोहीले बुझाउने कुत, अक्षयकोषको पैसा र गुठीका जग्गामा घर बनाउँदा लिने दस्तुर नै आम्दानीको स्रोत हुन्।’
विभिन्न व्यक्तिले गुठीको तैनाथी जग्गालाई लामो समयदेखि प्रयोग गर्दैआएका छन्। उनीहरुबाट गुठीले नगन्य रकम वा त्यो पनि पाएको छैन। ‘गुठीले सबैभन्दा आम्दानी गर्नसक्ने तैनाथी जग्गा भए पनि उपयोगमा ल्याउन सकेको छैन,’ उनले भने।
गुठी संस्थान आफ्नो सम्पत्तिको खोजी र संरक्षणमा लाग्नुपर्नेमा ज्योतिष दैवज्ञ जोशीले जोड दिए। गुठीका जग्गा विभिन्न किसिमले प्रयोग गरिरहेका व्यक्तिले पनि इमान्दार भएर तिरो तिर्नुपर्ने उनले बताए।‘भगवानको नाममा भएको जग्गा भोग–चलन गर्नेले धर्म सम्झेर र इमान्दार भएर तिरो तिर्नुपर्छ।’