नारायणगढमा रहेका आफन्त भेट्न दिल्लीका नितेस मेहता शुक्रबार बिहानै बुटवल आईपुगे। पाँचजना साथीसँगै बिहीबार डिलक्स बसमा यात्रा शुरू गरेका मेहताले दिल्लीदेखि नारायणगढ सम्मको १६ सय भारतीय रूपैया अग्रिम बुझाईसकेका थिए।
सिण्डिकेट तोड्ने सरकारी निर्णयविरुद्ध चरणबद्ध आन्दोलनमा रहेका यातायात व्यवसायीको सवारी साधन बन्द गर्ने आन्दोलनबाट अनविज्ञ उनीहरुलाई बुटवल राजमार्ग चौराहमा आईपुग्दा दुव्र्यवहार गर्दै बसबाट ओरालियो।
सरकारले जसरी भए पनि यातायात क्षेत्रमा देखिएको मनपरीतन्त्र हटाउन गरेको निर्णयलाई कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएको प्रहरी प्रशासन नै मेहतासहितका भारतीय यात्रुहरुलाई बसबाट ओराल्न सहयोगी बन्यो।
३२ जना यात्रु लिएर बिहीबार दिल्लीबाट हिँडेको उक्त बसमा रुपन्देही, कपिलवस्तुलगायतका यात्रुहरु बुटवल आईपुग्दा ओर्लिईसकेका थिए। बाँकी थिए नितेस मेहता सहितका नारायणगढ पुग्ने ६ जना र नवलपरासीको बर्दघाट पुग्ने ४ जना गरि १० जना भारतीय यात्रु।
यात्रा शुरु गर्दा नै अग्रिम रकम बुझाएर टिकट काटेका उनीहरू बसबाट ओर्लन नमानेको भन्दै दुर्व्यवहार गर्दै झार्न खोजिरहँदा नजिकै रहेको प्रहरी प्रशासन रमिते मात्र बनेन बसभित्रै पसेर यात्रुहरुलाई झार्न सवारी चालकको सहयोगी बन्यो ।
छिमेकी मुलुकमा पाहुनाको रुपमा आएका उनीहरू व्यवसायीहरुको आन्दोलनको बहानामा बिच बाटोमै ओरालिएपछि रातो नम्बर प्लेटको गाडीलाई भाडा बुझाएर सम्बन्धित स्थानमा जान बाध्य भए।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदय बहादुर रानाले बिहीबार दिउँसो सरकारको निर्णय कार्यान्वयन गराउन खरो रुपमा उत्रने बताएको २४ घण्टा नबित्दै यात्रुहरुमाथि सडकमा दुर्व्यवहार हुँदा प्रहरी प्रशासन सहयोगी बनेको छ ।
व्यवसायीले सवारी साधन सञ्चालन नगरे आफ्नै जनशक्ति प्रयोग गरेर भए पनि सवारी साधन चलाउने बताएको प्रशासनको उपस्थिति शुक्रबार भने सडकमा शुन्य देखिएको छ।
यातायात व्यवसायीले गर्ने आन्दोलनलाई निस्तेज पारी सरकारले गरेको निर्णय कार्यान्वयनको लागि खरो रुपमा उत्रने बताएका रानाले शुक्रवार बिहान भने आफ्नै भनाईको कार्यान्वयन गर्न सकेनन्।
प्रमुख जिल्ला अधिकारी रानाले केन्द्रको निर्देशन आएपछि सवारी साधन संचालन नगर्ने सवारी साधनको रूट ईजाजत खारेज गर्ने बताए। ‘केन्द्रबाट रूट ईजाजत लिएका सवारी साधनको केन्द्रले नै रूट खारेज गर्छ, यसक्षेत्रमा दर्ता भई रूट ईजाजत लिएका सवारी साधनलाई केन्द्रको निर्देशन आएपछि हामी आफै ईजाजत खारेज गर्छौ,’ उनले सेतोपाटीलाई बताए।
रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामलाल ज्ञवालीले प्रहरी प्रशासन यात्रु र नागरिकको सहयोगी बन्नुपर्ने भन्दै यात्रुमाथि भएको दुर्व्यवहारको विषयमा सम्बन्धित क्षेत्रको प्रहरीसँग बुझ्ने बताए। उनले सडकमा यात्रुहरूलाई अलपत्र पार्ने सवारी धनी र चालकलाई कारवाहीको दायरामा ल्याउन निर्देशन दिएको बताए ।
https://www.youtube.com/watch?v=TUHY6XMk8Og&feature=youtu.be