काठमाडौं प्रहरीले २५ हजार लिटर घरेलु मदिरा नष्ट गरेको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंले बिहिबार बरामद भएको २५ हजार लिटर तयारी घरेलु मदिरा र ४ हजार किलो मदिरा बनाउने कच्चा पदार्थ नष्ट गरेको हो।
प्रहरीले गत वैशाख १ गते यता विभिन्न मितिमा बरामद गरेको घरेलु मदिरा नष्ट गरेको हो।
घरेलु मदिराका कारण समाजमा विभिन्न खालका समस्याहरू हुने गरेको गुनासो बढेपछि घरेलु मदिरा किनबेच तथा उत्पादनमा कडाइ गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए।
‘घरेलु मदिरा सेवनकै कारण दैनिक दर्जनौं झगडा तथा विभिन्न खालका विकृति हुन थाले’, एसएसपी पोखरेलले भने, ‘घरेलु मदिरा नियन्त्रण गर्दा मात्र पनि केही अपराध कमी हुन्छ।’
उनका अनुसार वैशाख यता १६ ओटा कर्तव्य ज्यानका मुद्दा दर्ता भएकोमा ५ ओटा घटना घरेलु मदिराकै कारण रहेको छ।
त्यस्तैगरी, जबर्जस्ती करणमा ५३ ओटा मुद्दा दायर भएकोमा ७ वटा घरेलु मदिराकै कारण रहेका छन्, भने १ हजार ७ सार्वजनिक अपराधको मुद्दामा ६ सय ७ घटना घरेलु मदिराकै कारण घटेको प्रहरीको भनाइ छ।
त्यसैगरी, ३ महिनाको अवधिमा ४ सय ८१ घरेलु हिसांका घटना भएको र जसमा घरेलु मदिराको कारण २ सय ८५ ओटा घटना घटेको प्रहरीको भनाइ छ।
प्रहरीले बिहिबार नष्ट गरेको तयारी मदिरा तथा मदिरा बनाउने कच्चा पदार्थ बौद्ध, कपन, नयाँ बसपार्क, कालीमाटी, कोटेश्वर, स्वयम्भु, बालाजु, टोखा लगाएतका स्थानबाट बरामद गरिएको हो।