दाङमा रहेका विभिन्न यातायात समितिहरूले आजैदेखि गाडी सञ्चालनमा रोक लगाएका छन्।
सिण्डिकेट पक्षधर मानिएका समितिका कतिपय काउन्टर खुलेकै छैनन् भने खोलिएका काउण्टरमा टिकट काट्ने कर्मचारी पनि छैनन्। कर्मचारी भएकाहरूले पनि गाडी छैन भन्दै टिकट काटेका छैनन्।
सरकारले आगामी असारदेखि समितिहरू नविकरण नगर्ने तथा समितिहरू खारेज गर्ने निर्णय गरेपछि त्यसको विरोधमा उत्रिएका समितिहरूले बिहिबारदेखि नै आफ्नो यातायात सेवा रोकेका हुन्।
राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिका डायल इञ्चार्ज मोहन पुरीले आजदेखि नै लामो दूरीका सम्पूर्ण सेवा बन्द गरिएको बताए।
‘भोलिदेखि हाम्रा बसहरू ग्यारेजमा थन्किन्छन्। त्यसैले आजैदेखि हामीले लामो दूरीका बस सञ्चालनमा रोकेका हौं,’ डायल इञ्चार्ज पुरीले भने।

उनले सरकारको ज्यादति विरुद्ध एक भएर समितिहरू आन्दोलनमा उत्रिएको बताए। उनले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको आन्दोलनका कार्यक्रम अनुसार आन्दोलन गर्ने जनाए।

त्यस्तै, अम्विकेश्वरी सार्वजनिक राप्ती यातायात व्यवसायी समितिका झग्गु भण्डारीले पनि आफूहरूले लामो दूरीमा सञ्चालन हुने गाडी बिहिबारदेखि चलाउन छोडेको बताए । भोलिदेखि हुने आन्दोलनलाई सफल तुल्याउन गाडी नपठाउनु भन्ने निर्देशन बमोजिम गाडी रोकेको उनको भनाइ छ। यता, यात्रुहरू भने काउन्टरको वरिपरि गाडीको खोजीमा झुम्मिएका देखिन्थे। अर्काे एक समितिका राजन डाँडीले पनि आफ्नो समितिबाट लामो दूरीका कुनै पनि गाडी नचलाएको बताए।

‘छोटो दूरीका गाडी आफूखुसी सञ्चालनमा आएका छन्। तर, लामो दूरीका गाडीको टिकट भने हामीले काटेका छैनौं,’ डाँगीले भने।
त्यस्तै, तुलसीपुर जिप तथा माइक्रोबस बस व्यवसायी समितिले पनि आजदेखि लामो दूरीका यातायात सञ्चालनमा रोक लगाएको समितिका सदस्य रमेश रावतले जानकारी दिएका छन्। समितिहरूले गाडी चलाउन रोकेका भए पनि कम्पनीअन्तरगत दर्ता भएका गाडीहरू भने चलिरहेका छन्। दाङमा समितिअन्तरगत करिब ६ सय गाडी छन्।



