दाङको तुलसीपुरमा उपचारका क्रममा एक जना बिरामीको मृत्यु भएपछि मेडिकल सञ्चालक र उपचारमा सम्लग्न व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
तुलसीपुरस्थित ज्योति मेडिकलमा उपचारका क्रममा तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ निवासी ४० वर्षीया प्रेमा कुमालको मृत्यु भएपछि प्रहरीले पीडितको जाहेरीको आधारमा मेडिकल सञ्चालक र उपचारमा सम्लग्न व्यक्तिलाई पक्राउ गरेको जानकारी दिएको छ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रकाश सापकोटाले उपचारका लागि घरबाटै बुहारीसँग सामान्य अवस्थामा आएपछि ज्योति मेडिकलमा सुई लगाएको केही बेरमै बहोस भएको र त्यसपछि नजिकैको राप्ती अञ्चल अस्पताल लैजाँदै गर्दा बाटोमै कुमालको मृत्यु भएको बताए। डिएसपी सापकोटाका अनुसार कुमाल ग्याष्ट्रिकको बिरामी थिइन्।
कुमाल ज्योति मेडिकलमा पुग्दा सामान्य अवस्थामा रहे पनि त्यहाँ सुई लगाइदिने बित्तिकै उनी बेहोस भएको र लगत्तै मृत्यु भएको हुँदा मेडिकल सञ्चालक र उपचारमा सम्लग्न व्यक्तिलाई पक्राउ गरिएको डिएसपी सापकोटाले बताए।
यो खबर तयार पार्दासम्म ईप्रका तुलसीपुर परिसरमै पीडित पक्ष र मेडिकल सञ्चालकका बीचमा कुराकानी जारी छ। प्रहरीले भने पोष्टमार्टम रिपोर्टपछि मात्रै कुमालको उपचारका क्रममा लापरवाही भएको हो कि हैन? भन्ने कुरा एकिनका साथ भन्न सकिने बताएको छ।