डेढ वर्षअघि ६ महिने अनमोल शाहीको पास्नी (भात खुवाई) थियो। ‘पास्नी’ कै दिन बाबुको हातबाट भात खाएर उनको पास्नी उद्घाटन गरेदेखि अनमोल बिरामी परे। उनलाई पखालाले सतायो।
उपचारका लागि मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल कालागाउँ लगियो। चिकित्सकहरु उपचारमा सहभागी भए तर सफल भएनन्। उनको शरीरका कुनै पनि ठाउँमा घोचिएका सुईहरुले काम गरेनन्। २०७३ फागुन १९ गते ती नबालकले राम्रो र स्तरीय उपचार नपाएर संसारबाटै बिदा भए।
२०७३ भदौ १३ मा जन्मिएका अनमोल ६ महिनाका हुँदा करिब ११ किलोका थिए। उनी निकै स्वस्थ्य मानिएका थिए। तर खाना परिवर्तन हुने बित्तिकै बिरामी परेका अनमोल उपचार नपाएर विते। त्यसपछि उनका बाबाको सोच बन्यो यो छोराको शोकलाई सेवामा बदल्ने। अनमोलका बाबा निराजन र आमा निर्मला मिलेर ‘अनमोल स्मृति प्रतिस्ठान’ खोले।
‘छोरो ६ महिनाको हुँदासम्म मैँले ७/८ दिनमात्र टाढा भएँ होला।’ अनमोलका बुवा निराजन शाहीले भने –‘बाँकी दिनहरुमा मैँले छोराको लागि आमाकै भूमिका निभाएको हुँ, तर मर्दा मेरै काखमा मरेको हो, म यो छोराको शोकलाई सेवामा बदल्न जरुरी ठानेर काम गरिरहेको छु।’
उपचार नुहुनू र तीन घण्टासम्म एम्बुलेन्स नपाउनुले आफ्नो छोरा मृत्युको मुखमा पुगेकोले यस्तो अवस्था अरुको नहोस भनेर प्रतिष्ठानका तर्फबाट एम्बुलेन्स सञ्चालन गर्न लागिएको निराजनले बताए।
अनमोल स्मृति प्रतिष्ठानका नामबाट अबको केही महिनाभित्र दुई वटा सुविधा सम्पन्न एम्बुलेन्स सञ्चालन हुनेछन्। ती मध्ये एउटा कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट भने एउटा विकट जिल्ला कालिकोटबाट सञ्चालन हुनेछ।
उक्त एम्बुलेन्सहरुबाट पाँच वर्ष मुनिका बिरामी बालबालिका र सुत्केरी महिलालाई निःशुल्क सेवा प्रदान गरिने छ। विपन्न तथा असहाय बालबालिकालाई समेत अवस्था हेरी निःशुल्क सेवा दिइने ‘अनमोल स्मृति प्रतिष्ठान’का अध्यक्ष निराजन शाहीले बताए।
‘मैँले अनमोललाई यो संसारमा पाईला टेकाउनुको पनि मेरो एउटा सपना थियो, त्यो मैँले पूरा गर्न सकिनँ,’ बुवा निराजनले भने –‘अब शोकमा बस्नुभन्दा पनि शोकलाई सेवामा परिवर्तन गरेर आफू बाँचौ, अरुलाई पनि बाँच्ने अवसर प्रदान गरौँ भन्ने भावना ममा छ, यसका लागि छोराको नामबाट खोलिएको प्रतिष्ठानका माध्यमबाट काम गरिहेका छौँ।’
उनी भन्छन् –‘मेरो स्वर्गीय अनमोलजस्ता हजारौँ अनमोल यो धर्तीमा छन्, त्यस्ता अनमोलका मुहारमा खुशी ल्याउन प्रतिष्ठानका माध्ययमबाट काम गर्नेछौँ।’
यही २०७५ फागुन १९ गते अनमोल स्मृति दिवसका दिन दुई वटा एम्बुलेन्स सञ्चालन गरिने उनले जानकारी दिए। एम्बुलेन्स सञ्चालनका लागि स्थानीय तहसँग सहयोग माग्नुका साथै वैदेशिक रोजगारमा गएकासँग चन्दा दिन अनुरोध गर्ने गरिएको उनले बताए।
छोराको सम्झनामा खोलिएको ‘अनमोल स्मृति प्रतिष्ठानबाट बालबालिका लक्षित स्वास्थ्य, शिक्षा तथा खेलकुदसम्बन्धी कार्यक्रमहरु सञ्चालन भइरहेका छन्।
स्वास्थ्यतर्फ विभिन्न समयमा विभिन्न स्थानमा बाल स्वास्थ्य शिविर सञ्चाल गर्ने गरिन्छ भने उपचार अभावमा रहेका बालबालिकालाई प्रतिष्ठानमा जम्मा भएको रकम प्रदान गरि उपचारमा सहयोग गर्ने गरिन्छ।
शिक्षातर्फ विपन्न तथा असहाय बालबालिकालाई विद्यालय खर्च प्रतिष्ठानका तर्फबाट ब्यहोर्ने गरिन्छ। खेलकुदतर्फ विभिन्न विद्यालयहरुमा बालबालिकाहरु सहभागी हुने पाउने खालका प्रतियोगिताहरु गर्ने गरिन्छ।
प्रदेशको राजधानी वीरेन्द्रनगरमा सुविधा सम्पन्न बाल अस्पताल खोल्ने पनि निराजनको योजना छ। छोराको उपचार हुन नसकेर मृत्यु भए पनि त्यस्तो अवस्था अन्य वालबालिकामा नआओस भनेर विशेषज्ञसहितको वाल अस्पताल खोल्ने योजना बनाएको उनले बताए।
आमाको पनि उत्तिकै साथ‘अनमोल स्मृति प्रतिष्ठान’को कोषाध्यक्ष छिन् स्वर्गीय अनमोलकी आमा निर्मला शाही। ६ महिनाको छोरालाई आफ्नो काखबाट गुमाएकी निर्मला पनि प्रतिष्ठानबाट गर्नुपर्ने सबै कामहरुका लागि लागिपरेकी छन्।
‘छोरा अनमोलको यादमा बगाएका मेरा थुप्रै आँशुहरु त्यस्तै अरु बच्चाहरुको खुशी दिन प्रयोग गर्नु छ,’ निर्मलाले भनिन् –‘उपचार पाउन नसकेर अनमोलले ज्यान गुमाए पनि यस्तो अवस्था आउन नदिन अरु हजारौँ अनमोलका लागि काम गर्नु आवश्यक छ।’
अनमोल स्मृति प्रतिष्ठानका नाममा एम्बुलेन्स सञ्चालन, वाल अस्पतालको स्थापनालगायतका सबै कार्यका लागि निर्मला पनि लागि परेकी छिन्।