जिल्ला अस्पताल प्युठानमा एक सुत्केरी महिलाको मृत्यु भएपछि आफन्त र स्थानीयले विरोध प्रदर्शन गरेका छन्।
चिकित्सकको लापरवाहीले मृत्यु भएको भन्दै विरोध प्रदर्शन भएपछि बिहानैदेखि अस्पताल परिसर तनावग्रस्त बनेको हो ।
मंगलबार बिहान सुत्केरी व्यथा लागेपछि भर्ना हुन अस्पताल आएकी उनको सामान्य अवस्थामा सुत्केरी हुन नसक्ने भएपछि दिउँसो बाह्र बजे शल्यक्रिया गरी बच्चा निकालिएको थियो। शल्यक्रिया गरेको झण्डै सात घण्टापछि मगंलबार राती सुत्केरी महिलाको मृत्यु भएको थियो।
शल्यक्रिया पश्चात् चौबिस घण्टासम्म केही खान नदिनु भन्ने चिकित्सकको सुझावलाई वास्ता नगरी बिरामीको आफन्तले पानी खुवाएको कारण सुत्केरी महिलाको मृत्यु भएको जिल्ला अस्पताल प्युठानका प्रमुख अच्युत कार्कीले बताए। यता, बिरामीको कुरुवा विपना धामीले भने पानी नपिलाएको जिकिर गर्छिन्।
‘अस्पतालको लापरवाहीले मृत्यु भएको हो, हामीले पानी पिलाएकै छैन’,उनले भनिन्।
आन्दोलित स्थानीयले जिल्ला अस्पताल बिजुवार परिसरमा भेला भएर अस्पताल प्रशासन विरुद्ध नाराबाजी गरिरहेका छन्। यसका साथै, अस्पताल तोडफोडसमेत गरेका छन्।
मृतकका आफन्तले दोषीलाई कारवाही नगरेसम्म शव नबुझ्ने अडान लिएका छन्। आन्दोलनकारी प्युठान भालुवाङ सडक खण्डमा सवारी साधनसम्म चल्न दिएका छैनन्।
स्थानीय प्रशासनले अस्पताल परिसरमा निषेधित क्षेत्र घोषणा गरेको छ भने सुरक्षा व्यवस्थामा कडाइ गरिएको प्युठान प्रहरी प्रमुख राजेन्द्र पोख्रेलले बताए।
सुत्केरी हुन जिल्ला अस्पतालमा आएकी प्युठान नगरपालिका २ दाखाक्वाडी निवासी २५ वर्षीया राधिका धामीको मंगलबार राति मृत्यु भएको थियो।
अहिले पीडित पक्ष,प्रमुख जिल्ला अधिकारी र प्रशासनबीच छलफल भइरहेको छ।