३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा पक्राउ परेका २८ जना र अन्य केहीलाई प्रतिवादी बनाएर जिल्ला अदालत मोरङमा बुधबार मुद्दा दर्ता हुँदैछ।
पक्राउ परेका र सुन मालिक भनिएका चुडामणि उप्रेती ‘गोरे’ सहित फरार रहेका केहीलाई संगठित अपराध तथा कर्तव्य ज्यानमा मुद्दा दर्ता गर्ने तयारी जिल्ला सरकारी वकिल कार्यालयले गरेको छ।
प्रहरीले अनुसन्धान मिसिल यसअघि नै सरकारी वकिलको कार्यालयमा बुझाइसकेको छ।
गत माघ ९ गते दुबईबाट ल्याइएको तस्करीको ३३ किलो सुन हराएपछि खोजबिन सुरू भएको थियो।
उक्त सुन लुकाएको भन्दै मोरङ उर्लाबारीका सनम शाक्यको फागुन १८ मा हत्या भएको थियो। हत्या काण्डबारे छानबिन गर्न गृह मन्त्रालयका सहसचिव ईश्वराज पौडेलको नेतृत्वमा बनेको समितिले ६ प्रहरी अधिकारीसहित २८ जनालाई पक्राउ गरेको छ।