सगरमाथा आरोहणमा गएकी फोटो पत्रकार पूर्णिमा श्रेष्ठले सगरमाथाका विभिन्न आधार शिविरमा फोटो प्रदर्शनी सुरू गरेकी छन्।
आफ्नो पाँच वर्षे फोटो पत्रकारिता दौरानमा खिचेका उत्कृष्ठ लागेका फोटो उनले सगरमाथामाका विभिन्न आधार शिविरमा प्रदर्शन गरेकी हुन्।
दुखमा पनि नेपाली महिला मुस्कुराइरहेको तथा खेत रोपेकोजस्ता २५ भन्दा बढी फोटो प्रदर्शनीमा राखिएको श्रेष्ठले बताइन्।
‘सगरमाथाको चुचुरोमा आमाको फोटो प्रदर्शनमा राख्छु’ उनले सेतोपाटीसँग भनिन्।
सगरमाथा आरोही स्वेदशी तथा विदेशी आरोहणकर्ताले प्रदर्शनीमा राखिएको फोटो हेरेका छन्। उनले सगरमाथाको ६ हजार ३० मिटर, ६ हजार ८ सय २० मिटर र ७ हजार मिटर उचाइमा फोटो प्रदर्शनमा राखिएको जानकारी दिइन्।
सगरमाथामा राखिएका यी फोटोहरू पछि राजधानीमा पनि प्रदर्शन गर्ने योजना रहेको उनले सुनाइन्।
‘सगरमाथामा नेपाली महिला मुस्कुराइरहेको फोटो राख्दा खुसी छु’, उनले भनिन्, ‘सगरमाथामा मैले नै पहिलो पटक फोटो प्रदर्शनमा राखेको हुँ।’
गोरखा आरुघाटकी पूर्णिमाले यसअघि मनास्लु हिमालको आरोहण गरेकी थिइन्।