पति पत्नी दुबैजना उनीहरूकै शब्दमा पूर्व ‘जनमुक्ति सेना’ हुन्। उनीहरूले २०६३ साल असारमा पार्टीकै नीति अनुरूप पोखरामा जनवादी बिहे गरे।
पतिको टाउको र देव्रे खुट्टामा अझै बमको छर्रा छन्। पत्नीको काँधदेखि थोरै मुन्तिर ‘युद्ध मैदान’ मै गोलि लागेको ठूलो खत पुरिदैँ छ।उनीहरूका ती घाउ बेलाबेला बल्झिन्छन्। जाडो समयमा बढी दुख्छन्।
त्यतिबेला उनीहरूको अतीत आँखै अगाडि नाच्दै आउँछ। ‘व्याटल फिल्डको घमासान युद्ध’ सिनेमा झैं झलझली याद आउने गरेको उनीहरूले बताए। उनीहरू अब युद्धलाई विस्तारै बिर्सने प्रयास गरिरहेका छन्।
‘अब त्यो अध्याय समाप्त भइसकेको छ, त्यसैले सम्झेर काम छैन। त्यो सबैले बिर्सदै जानुपर्छ,’ सेतोपाटीसँग कुरा गर्दै यी दम्पत्तिले भने। यसका लागि समाजले सघाइरहेको उनीहरूको तर्क छ ।
पतिलाई रूकुमको खारा आक्रमणमा ‘माईन’ विस्फोट हुँदा छर्रा लागेको हो भने पत्नीलाई कपिलबस्तुको एउटा कारबाहीमा नेपाली सेनाले हानेको गोलि लागेको थियो। पति ‘जनमुक्ति सेना’का पूर्व ‘सह-कम्पनी कमाण्डर’ भएकाले तत्कालीन माओवादी अध्यक्ष प्रचण्डको सुरक्षा समितिमा बसेर काम गरेका थिए। उनले तत्कालीन प्रचण्डको निवास नयाँ बजारमा दुई वर्ष सुरक्षा दिए। पत्नी पूर्व ‘प्लाटुन कमाण्डर’ हुन्। युद्धको क्रममा उनीहरुले पार्टीका उच्च तहका नेताहरुलाई ओहोर दोहोर गराउँथे र सुरक्षा दिने गरेका थिए।
जब ‘प्रचण्ड’ प्रधानमन्त्री बनेर बालुवाटार छिरे त्यसपछि उनीहरुको जिम्मेवारी छुटेको थियो।
दुबै जनाले एक सय भन्दा बढी ‘ब्याटर फिल्ड’ युद्ध मैदान प्रत्यक्ष भोगे। हजारौं फायरिङ गरे, सयौं बम हाने। तर, आज उनीहरुको परिस्थिति पुरै फेरिएको छ।
बन्दुक र बम बोक्ने उनीहरूका ती हातमा आज चल्ला भेटिन्छन्। वर्षौंसम्म गोलि, बम र बारूदसँग अभ्यस्त उनीहरूलाई आज कसरी चल्ला राम्रोसँग हुर्काउने? विरामी हुँदा सुई कसरी लगाउने? भन्ने मात्रै चिन्ता छ।
घरमै पोल्ट्रि फर्म खोलेर सयौं ब्रोईलर कुखुरा पाल्दै आएका पूर्व ‘जनमुक्ति सेना’को यो दम्पत्ति ‘आर्थिक मुक्ति’को अभियानमा छ। अब उनीहरूमा कुखुरा पालेर बढी भन्दा बढी कसरी लाभ लिन सकिन्छ? भन्ने कल्पना मात्रै छ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ देवीपुर झिगैं निवासी ३१ वर्षीय घनराज खड्का (अमृत) र ३० वर्षीया रेखा खड्काको हालको दैनिकी यही हो।
खड्का दम्पत्तिले व्यवसायीक रुपमा यसरी कुखुरा पाल्न थालेको दुई वर्ष पुगेको छ। उनीहरूले कुखुराको रेखदेख गर्न अरु मान्छे पनि राखेका छन्।
हाम्रो जस्तो ‘युद्ध’ हाम्रो बच्चाले भोग्नु नपरोस्– रेखादाङमा बसाई सरेको करिब ८ वर्ष हुन लाग्यो। उनीहरुको पुर्ख्यौली घर सल्यान हो। रेखाको माईती रूकुम।
तीन सन्तानका अभिभावक उनीहरु छोराछोरीकै भविष्य सोचेर दाङ आएका हुन्। ‘आफ्नो भन्दा पनि छोरा छोरीको भविष्य उज्वल गराउन र उनीहरूलाई राम्रो शिक्षा दिनका लागि दाङमा बसाइ सरेका हौं,’ रेखाले भनिन्।
सेना समायोजनमा स्वेच्छिक अवकास रोजेर पाएको रकमबाट उनीहरूले नयाँ जीवन सुरू गरेका हुन्।
दुईजनाले अवकास बापत प्राप्त गरेको जनही पाँच/पाँच लाखबाट दाङको तुलसीपुरमा पाँच कठ्ठा जग्गा किनेर नयाँ जीवनको सुरूवात गरेका हुन्।
‘यो हाम्रो जीवनको नयाँ आयाम हो। अब समाजले नभन्दासम्म राजनीति गर्दिनँ,’ घनराजले भने, ‘अब आर्थिक समृद्धिमा लाग्छौं।’ उनले अझै नयाँ र बैज्ञानिक ढंगले कुखुरापालन गर्ने योजना रहेको सुनाए। एउटा सप्लायर्स, ह्याचरी उद्योग स्थापना गर्ने चाहना रहेको उनले बताए।
अब देशलाई युद्ध आवश्यक छैन – घनराजघनराज विद्यालय पढ्दै गर्दा माओवादी सेनामा सोझै भर्ना भएका थिए भने रेखा पनि स्कुल पढ्दै गर्दा माओवादी सेनामा गइन्।
बिचमै पढाई छाडेका उनीहरूले शान्ति प्रक्रियापछि मात्रै एसएलसी उत्तिर्ण गरे।
‘पहिले बुर्जुवा शिक्षा किन पढ्ने भनेर पढिएन, तर पछि सेना समायोजनका क्रममा शिक्षाको महत्व थाहा भयो र फेरि परीक्षा दिएर एसएलसी पास गर्यौं,’ घनराजले भने।
त्यसपछि बच्चा बच्ची जन्मिए, घर गृहस्थी जीवनले च्याप्यो र थप पढ्न नपाएको रेखाले बताइन्। ‘हाम्रो जे भयो भयो, तर अब बच्चा बच्चीको भविष्य बनाउनुपर्छ भनेर हामीले अवकास रोजेका हौं,’ रेखाले भनिन्।
आफूहरुले देश र जनताको लागि युद्ध लडेको भए पनि अब फेरि ती दिन आफ्ना सन्तानले भोग्न र देख्न नपरोस् भन्ने कामना रेखाले गरिन्। ‘हामीले लडेको जस्तो युद्ध फेरि नहोस् र हाम्रो बच्चाले त्यो कहिलै भोग्नु नपरोस्,’ रेखाले भनिन् ।
दर्जनौं युद्धमा प्रत्यक्ष सहभागी रेखाले कपिलबस्तुको एउटा कारबाहीमा सहभागी हुँदा आफूलाई गोलि लागेको समेत थाहा नपाएको बताइन्।
‘आक्रमण सकेर पनि दुई घन्टा हिँडिसकेपछि मात्र झोला बोकेको ठाउँमा अलिकति पीडा भयो। यसो छामेर हेर्दा हातै भरी रगत देखियो, गोलि लागेको भागबाट रगत बग्दै खुट्टा समेत भिजेको रहेछ, तर मलाई त्यो गोलि लागेको थाहा थिएन,’ अतीत सम्झँदै रेखाले भनिन्।
उनले युद्धको मैदानमा गोलि हानाहान चल्दा मर्ने बाँच्नेको कुनै चिन्ता नरहने बताइन्। ‘युद्धमा होमिँदा आफू मर्छु कि वा आफ्नो टिमले हार्छ कि, भन्ने कुनै चिन्ता नहुने बताइन्। ‘त्यहाँ त केवल गोलि र बम मात्रै कसरी प्रहार गर्ने भन्ने सोच हुन्थ्यो,’ रेखाले भनिन्।
उनका पति घनराजले पनि युद्धबारे त्यस्तै अनुभूति साटे। ‘म आज पनि सपनामा युद्ध लडिरहेकै हुन्छु। ब्युझँदा शरीर पसिनाले निर्थुक्क भिजेको हुन्छ, तर विपना अब त्यो कदापी सम्भव छै,’ घनराजले भने, ‘आज पनि बन्दुक समातेको सेना वा प्रहरी देख्दा कतै मलाई नै हेरिरहेको छ कि! भन्ने भान हुन्छ।’
अब आफूमा हतियार तथा युद्धको कुनै मोह नरहेको उनले स्पष्ट पारे। अब सामाजिक रूपान्तरणमा लाग्न आवश्यक रहेको भन्दै युद्ध देशलाई आवश्यक नरहेको बताए। ‘त्यो अध्याय समाप्त भइसक्यो। परितर्वनको लागि धर्तीले मागेको रगत हामीले बगाइसकेका छौं,’ उनले भने।
आफूले लडेको युद्धलाई निकै गर्वका साथ प्रस्तुत गरेका उनले माओवादी युद्धकै कारण देशमा संघीय गणतन्त्र आएको दाबी गरे।
आफूहरूलाई ‘लडाकु’ होइन पूर्व ‘जनमुक्ति सेना’ भन्न आग्रह गरेका उनले ‘लडाकु’ सिद्धान्तहिन, दिशाहिन हुने र ‘जनमुक्ति सेना’ जनताले जनताको सेवाको निश्चित राजनीतिक उद्धेश्य पुरा गर्न गठन गरेको संगठन भएको बताए।
एमाले र माओवादी बीचको एकताको मात्रै अर्थ छैनवर्षौंसम्म बन्दुक, बम र बारूदसँग खेलेको खड्काको यो जोडी गृहस्थी जीवनमा रमाईरहेको छ।
त्यतिबेला नै परेको ‘माओवाद’को दर्शन तथा सिद्धान्तको छाप अझैं उनीहरूमा गहिरो गरी बसेको पाइयो। आज पनि तत्कालीन ‘जनयुद्ध’ का कमाण्डर ‘प्रचण्ड’ जत्तिको अग्रगामी सोच भएको मान्छे पार्टीमा अर्को नभएको दाबी गरे।
डा. बाबुरामको नयाँ शक्ति पार्टीको बारेमा आफूलाई ज्ञान नभएको र त्यो जान्न पनि नचाहेको उनले बताए। घनराज खड्काले बाबुरामले पार्टी छोडेर गल्ती गरे भन्न भने हिचकिचाएनन्। ‘उहाँले पार्टी फोडेर गल्ती गर्नु भएको छ। अब उहाँ फेरि त्यो त्यागेर पार्टीमै फर्कनुपर्छ,’– घनराजले थपे, ‘बाबुरामजी देशले खोजेको र जनताले चाहेको नेता हो।’
उनले मोहन वैद्य ‘किरण’ जस्ता कम्युनिष्टका पिता, नेत्र विक्रम चन्द ‘विप्लव’ जस्ता क्रान्तिकारी अब फेरि सबै मिलेमात्रै देशले निकास पाउने तर्क गरे।
नेकपा एमाले र माओवादी केन्द्रको बिचमा मात्रै पार्टी एकीकरणले खासै खर्थ नराख्ने उनको तर्क छ। सबै वाम शक्ति मिलेमा मात्रै अस्थिर राजनीति स्थिर हुने उनले बताए। ‘सबै बाम शक्ति एक भए मात्रै एकीकरणको अर्थ रहन्छ, एमाले र माओवादीको मिलनको मात्रै खासै अर्थ हुन्न,’ घनराज खड्काले भने।
भागवन्डाको आधारमा मिलेर केही काम नहुने र सैद्धान्तिक रूपमा पार्टी मिलाउनुपर्ने उनले बताए। उनले एकीकरण र बिलय भन्ने कुरा फरक भएको हुँदा एकताको नाममा माओवादीले ‘विलय’ रोज्न नहुने बताए।
यदि सैद्धान्तिक रुपमा नमिलेर भागवन्डाका आधारमा मिल्ने हो भने एमालेको भित्रि योजना केही रैछ भने त्यो माओवादीका लागि ठूलो धोका सावित हुने हुँदा प्रचण्ड सजग हुनुपर्ने बेला रहेको खड्काले सजग गराए।
पछिल्लो समय नेताहरुले पार्टी र सिधान्त नीजि सम्पत्ति जस्तो बनाउँदै लगेको प्रति असन्तुष्टि जनाएका उनले त्यसका विरुद्ध खबरदारी हुनुपर्ने मत राखे।
‘देशले परिवर्तन पायो होला, तर, तल्लो तहबाट नियाल्दा पार्टी एकता सम्झौता जस्तै देखिन थालेको छ,’– घनराज खड्काले भने ‘गाउँले अर्थमा भन्ने हो भने त्यो एक किसिमको किनबेच नै हो।’
सजग कार्यकर्ताले आवश्यक खबरदारी गर्न चुक्ने हो भने त्यत्तो ‘जनयुद्ध’बाट प्राप्त उपलब्धी गुम्ने सक्ने उनले चिन्ता व्यक्त गरे। उनले जसले जे भने पनि गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता माओवादी ‘जनयुद्ध’कै उपलब्धी भएको दाबी गरे।
‘हामीले लडेको जनयुद्ध जनताको माग थियो, तर आज जनताको माग समृद्धि छ,’– रेखाले भनिन् ‘अब देशलाई युद्ध आवश्यक छैन,बरू सबै समृद्धि र सामाजिक रुपान्तरणमा लाग्न जरुरी छ।’