बीचमै कक्षा छाड्ने र विद्यालयको घेराभन्दा बाहिर रहेका बालबालिकालाई दिवा खाजाको व्यवस्था गरिएको छ।
कालिका आधारभूत विद्यालयमा पठनपाठन गर्ने विद्यार्थीलाई रिब्दिकोट गाउँपालिकाले निःशुल्क रूपमा दिवा खाजाको सुरूवात गरेको हो। यहाँ रहेका ११६ जना विद्यार्थीलाई एक वर्षसम्मको लागि निःशुल्करूपमा गाउँपालिकाले दिवा खाजा उपलब्ध गराएको छ। विशेष गरी कुमाल समुदायको बाक्लो उपस्थिति रहेको यस विद्यालयमा बीचमै कक्षा छाड्ने दर बढ्दो र केही विद्यार्थी विद्यालयको घेराभन्दा बाहिर रहेकाले उनीहरूलाई विद्यालय नियमित आउन बानी बसाल्न दिवा खाजाको व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ। दिवा खाजाको लागि विद्यालयले एक जना कर्मचारीको व्यवस्था गरेको छ।
कुमाल समुदायका १० जना बालबालिका विद्यालय शिक्षाभन्दा बाहिर रहेकोमा तीन जना बालबालिकालाई भर्ना गरिएको र अन्य सात जना बालबालिकामध्ये केही अपांगता भएको र केही आफ्नो गाउँभन्दा बाहिर भएकाले विद्यालय भर्ना अभियानमा सहभागी गराउन नसकिएको प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेलले बताए।
गरिब, असहाय कुमाल समुदायका बालबालिकालाई विद्यालय पहुँचमा ल्याउनको लागि रिब्दिकोट गाउँपालिकामा कार्यरत कर्मचारीले एक दिनको तलबबापत १६ हजार २०० रुपैयाँ, गाउँपालिकाका अध्यक्ष नारायण जिसीले व्यक्तिगत रूपमा १२ हजार रुपैयाँ, पाल्पा काठमाडौं सम्पर्क मञ्चले १० हजार रुपैयाँ, सामाजिक स्रोत विकास केन्द्रले १० हजार रुपैयाँ र अन्य संघ संस्थाबाट गरी एक लाख पाँच हजार रुपैयाँ अक्षयकोष स्थापना भएको छ।
विद्यालय र गाउँपालिकाको संयुक्त खाता सञ्चालन गरी गरिब, असहाय र जेहेन्दार कुमाल बालबालिकाको लागि पूर्णरूपमा निःशुल्क पठनपाठनको व्यवस्था मिलाइएको छ।रासस