प्रसिद्ध म्यागासेसे पुरस्कार प्राप्त आविष्कारक महावीर पुनले तुलसीपुरमा आविष्कार केन्द्र खोल्न इच्छुक रहेको बताएका छन्।
तुलसीपुर उपमहानगरपालिकाले प्रविधिको विकासका लागि देखाएको चासोलाई सम्मान गरेर आविष्कार केन्द्र खोल्न आफू इच्छुक रहेको उनले बताए।
उनले प्रविधिको विकास बिना कुनै पनि ठाउँको विकास हुन नसक्ने भन्दै तुलसीपुरको विकासका लागि पनि प्रविधिको विकास महत्वपूर्ण हुने कुरामा जोड दिए। ‘अहिले सामान्य तवरले केन्द्रको स्थापना गर्ने र त्यसलाई क्रमशः विस्तार गर्दै लैजान सकिन्छ’, तुलसीपुर उपमहानगरपालिकाले आयोजना गरेको कार्यक्रममा वोल्दै पुनले भने।
उनले राष्ट्रिय आविष्कार केन्द्रले शिक्षा, स्वास्थ्य र कृषिका लागि मोवाइल एप्लिेकेशन समेत बनाएर काम गरिरहेको बताए। आविष्कार केन्द्रका लागि जनतासँग सहयोग लिइरहेको बताउँदै पुनले आफूले कहिल्यै पनि व्यवसायका लागि काम नगर्ने दाबी गरे।
‘मलाई विजनेस आउँदैन, जनताको सेवा गर्ने मात्रै हो’, उनले भने,‘आजभोलि धेरै जसो इन्टरनेट भन्ने वित्तिकै फेसवुक, ट्विटर लगायतका सामाजिक सञ्जाल चलाउने भन्ने बुझिन्छ हामीले विभिन्न एप्लिकेसनहरु सञ्चालन गर्न पनि सिक्नु जरुरी रहेको छ।
उनले प्रविधिलाई विकास र समृद्धिसँग जोड्पर्ने आजको आवश्यकता रहेको वताए ।
आविष्कार केन्द्रका संस्थापक समेत रहेका पुनले प्रविधिका माध्यमबाट शिक्षा,स्वास्थ्य,पर्यटन, कृषि लगायतका क्षेत्रलाई प्रभावकारी बनाउनेतर्फ ध्यान दिनुपर्ने बताए।
तुलसीपुरका इन्टरनेट नपुगेका वडामा इन्टरनेट पुर्याउँन आफू तयार रहेको भन्दै उनले व्यावसायिक इन्टरनेट प्रदायकहरु पुग्न नसकेको ठाउँमा मात्रै काम गर्ने बताए। ‘व्यावसायिक रुपमा काम गर्नेहरु नभएको ठाउँमा इन्टरनेट पुर्याउने मेरो लक्ष्य हो’, पुनले भने।
तुलसीपुर उपमहानगरपालिकाले यसै वर्षबाट आरम्भ गर्न थालेको स्मार्ट हेल्थ कार्यक्रमको सिलसिलामा यहाँ आएका पुनले उपमहानगरपालिकालाई प्राविधिक क्षेत्रका लागि पनि वजेट तर्जुमा गर्न आग्रह गरेका थिए।
“हामी कहाँ भौतिक वस्तुमा मात्रै लगानी गर्ने प्रचलन रहेको छ तर हामीले विकासका लागि प्रविधिमा पनि लगानी गर्न इच्छुक रहेको उनले वताए । स्थानीय तहले आफ्ना सेवालाई इन्टरनेटमा राखेर मात्रै स्मार्ट सिटी नहुने भन्दै उनले जनतालाई पनि इन्टरनेट चलाउन सिक्ने वनाउन आवश्यक रहेको वताए।