गौतमबुद्धको मावलीगाँउ रूपन्देहीको देबदह भवानीपुरमा पहिलोपटक औपचारिक रुपमा बुद्धजयन्ती मनाईएको छ।
लुम्बिनीसँग नजिकै रहेर पनि ओझेलमा परेको भन्दै देवदह नगरपालिका पर्यटन प्रवर्धन तथा विकास समितिले लुम्बिनी विकास कोषको सहयोगमा पहिलो पटक बुद्ध जयन्ती मनाउन लागेको हो।
गौतमबुद्धको जन्मस्थल लुम्बिनीबाट ५७ किलोमिटर पूर्वमा रहेको मायाँदेवीको माईती रूपन्देहीको देबदह बुद्धकी आमा मायादेवी, सानीआमा प्रजापति र धर्मपत्नी यशोधराको समेत माईतीस्थल हो।
आयोजित कार्यक्रममा बोल्दै पर्यटन, संस्कृति तथा नागरिक उड्ययन मन्त्री रविन्द्रप्रसाद अधिकारीले पर्यटनको माध्यमबाट देशको आर्थिक विकास र समृद्धिको आधार तय गर्न सकिने बताए।
मन्त्री अधिकारीले देवदह, तिलौराकोट, रामग्रामलगायतका बुद्धसँग जोडिएका क्षेत्रको विकास विना वृहत्तर लुम्विनीको विकास अधुरो रहने बताए।
उनले भैहरवामा निर्माण भईरहेको गौतमबुद्ध विमानस्थल निर्माण सम्पन्न भएसँगै लुम्विनी तथा लुम्विनीसँग सम्वन्धीत स्थानमा पर्यटकको आगमन बढ्ने दावी गरे।
मन्त्री अधिकारीले लुम्विनीसँगै देवदह, रामग्राम, तिलौराकोटलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सके आम नागरिकको जीवनस्तर परिवर्तन हुने दाबी गरे। गौतम बुद्धको मावलीस्थल देवदह क्षेत्रमा रहेका ऐतिहासिक स्थलहरुमा गरिएको उत्खनन्मा भेटिएका वस्तुहरु राख्न संग्राहलय निर्माण गर्न स्थानीय तहसँग समन्वय गरेर अगाडि बढ्ने बताए।
उनले लुम्विनी, देवदह, रामग्राम, तिलौराकोट लगायतका क्षेत्रमा पर्यटकको बसाई लम्व्याउन होमस्टे सञ्चालन गर्नेतर्फ पनि स्थानीयतहले योजना बनाउन आग्रह गरे ।
प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्माले भारतीय गाईडको गलत ब्रिफिङका कारण लुम्बिनीबारे पर्यटकहरुमा भ्रम श्रृजना भएकोले लुम्बिनीमा लागि नेपाली गाईड तयार गर्नुपर्ने बताए।
देवदह नगरपालिका प्रमुख हिराबहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा लुम्विनी विकास कोषका कोषाध्यक्ष सुरेन्द्रमणि शाक्य, भिक्षु सागर धम्म लगायतले लुम्बिनी विकाशकोषले लुम्बिनीसँगै देवदह, रामग्राम र तिलौराकोटको विकासलाई सँगसँगै अगाडि बढाउनुपर्ने बताए।
बुद्धजयन्तीको अवसरमा लुम्विनी विकास कोषले महामाया भवानी मावि, देवदह मावि र जनता माविका ३/३ जना विद्यार्थीलाई जनही ५ हजारका दरले छात्रवृत्ति प्रदान गरेको थियो।
बुद्ध जयन्तीका अवसरमा देबदहमा रहेका धर्मोदयसभा र मायादेवी पार्कमा सप्ताहव्यापी कार्यक्रम सञ्चालन गरिएको देबदह नगरपालिकाले जनाएको छ।