तुलसीपुर उपमहानगरपालिकाले सुरक्षित आवासका लागि शनिवारदेखि खरको छानो हटाउने अभियान सुरु गरेको छ । नगरप्रमुख घनश्याम पाण्डेले वडा नम्वर १ को भ्यूडहर सुनपुरबाट अभियानको सुरुवात गरेका हुन् ।
‘ निर्वाचनमा हामीले गरेको प्रतिवद्धता अनुरुप खरको छानो विस्थापित अभियान सुरु गरेका हौं,’– मेयर पाण्डेले भने ‘खरको छानो भएको सुरक्षाको दृष्टिकोणबाट असुरक्षित हुनेगर्दछ ।’
शनिवार पहिलो चरणमा २० घर परिवारलाई जस्ता पाता वितरण गरिएको छ । घरको साईज हेरेर एउटा परिवारलाई २७ वटा सम्म जस्ता पाता उपलब्ध गराइको छ । तुलसीपुरको वडा नं. १ भ्यूडहर सुनपुरमा १ सय ६५ वटा खरको छाना भएका घर छन्।
खरको छानो भएका घरका बच्चा बच्चीले रातको समयमा आगजनी हुने डरले टुक्की बालेर पढ्न समेत नपाउने गरेको अभियान सुरु गरेको मेयर पाण्डेले बताए । उनले पहिलो चरणमा गरिव तथा अति विपन्न वर्गको घरमा खरको छानो फेर्ने योजना रहेको जनाए।
‘राजनीतिक आस्थाका आधारमा नभई साँच्चिकै गरिव र विपन्न वर्गका व्यक्तिलाई आवश्यक्ताको आधारमा जस्ता पाता वितरण गरिनेछ’ मेयर पाण्डेले भने ।
तुलसीपुर उपमहानगरपालिका रहेका झन्डै ८ हजार खरका छानाहरुलाई आगामी ५ बर्ष भित्र पूर्णरूपले विस्थापित गर्ने योजना अनुसार यस वर्ष ५ सय घरमा खरको छानो विस्थापित लक्ष्य छ। यो वर्ष तुलसीपुरका वडा नं. ५, ६ र ९ लाई खरको छाना मुक्त घोषणा गरिने योजनामा आफूहरू रहेको मेयर पाण्डेको भनाइ छ।
उनले कोही पनि नागरिक गरिवी र पंैसाका कारणले खरको छानोमा वस्नुपर्ने वाध्यता रहन नदिने प्रतिवद्धता जनाए । ‘ कसैले रहरले राख्छ भने मात्रै अन्यथा अब गरिवीको प्रतिक जस्तो देखिने खरको छानो स्थानीय सरकारले सबै हटाउँछ ।’ मेयर पाण्डेले भने ।
गरिवीका कारण आफुले हालसम्म घरमा रहेको खरको छानो हटाउन नसकेको अवस्थामा उपमहानगरपालिकाले टिन (जस्ता पाता) उपलब्ध गराउँदा गरिवको लागि पनि सरकार हुने रहेछ भन्ने आभास भएको स्थानिय विष्णु भण्डारीले बताए ।
‘ सार्वजनिक जग्गा सबै कब्जा हुँदा आज खर पाउनै छोडेको छ । खरको छाना भएको घरमा आगोको जोखिम त्यतिकै हुन्छ । टिन पाईयो अब भने बर्षामा ढुक्कले बस्न पाइने भयो’, भण्डारीले भने ।
उनले निर्वाचनमा गरेको प्रतिवद्धता अनुरुप भूमिहिन गरिव किसानलाई उनीहरुले जोतभोग गर्दै आएको जग्गाको पूर्जा समेत उपलब्ध गराइ दिन माग गरे ।