तस्वीरले नेपालीको वीरता प्रतिबिम्बित गर्छ। धेरै ठाउँमा प्रयोग भएको यस चित्रमा देखाइएका सैन्य योद्धा को हुन् भन्ने विषय भने भ्रममा रहेको छ।
तस्वीरमा युद्धरत सैनिक चोटपटक लागेर घाइते देखिन्छन् तर पनि साहसमा साथ तरबार उठाइरहेका छन्। यी सैनिकलाई धेरैले भक्ति थापा, कोहीले बलभद्र कुँवर त कोहीले पृथ्वीनारायण शाह भन्छन्।
तर यी योद्धा हुन् ‘बहादुर कर्णेल’।
‘यो ऐतिहासिक चित्र बहादुर कर्णेलको हो’, इतिहासकार पुरुषोत्तमशमशेर जबरा आफ्नो लामो अनुसन्धानको निचोड बताउँछन्। जबराले श्री ३ हरूको साथै तत्कालीन सैन्य इतिहास सम्बन्धी आधा दर्जन पुस्तक लेखेका छन्। ती पुस्तकमा कतै न कतै बहादुर कर्णेलको चर्चा गरिएकै छ।
आखिर को हुन् त बहादुर कर्णेल? जसको यही एउटा तस्वीर वर्षौंदेखि नेपाली इतिहासमा प्रयोग हुँदै आइरहेको छ।
सैनिक इतिहासमा उल्लेख भएअनुसार बहादुर कर्णेल नेपाली सेनाका अधिकृत हुन्। उनको वास्तविक नाम गम्भीर सिंह रायमाझी हो। तत्कालीन समयमा राणाहरू भन्दा बाहेकका सैनिक कर्मचारीहरू कर्णेल भन्दा तलको पदमा मात्र रहन पाउँथे। तर श्री ३ जंगबहादुर राणाले गम्भीरसिंहको बहादुरी देखेर उनलाई बढुवाका साथै आफ्नो नामको अगाडि ‘बहादुर’ उपाधि लगाउन आदेश दिए।
यस्तै नेपाली सैनिक इतिहास र रायमाझी कूलको वंशावलीमा बहादुर कर्णेलको बारेमा लेखिएको छ–‘बहादुर गम्भीर सिंह रायमाझीको जन्म वि. सं. १८८४ र ८५ तिर पाल्पाको छहरामा भएको थियो। उनी सुरूमा लेफ्टिनेन्ट पदबाट नेपाली सेनाको देवीदत्त पल्टनमा भर्ना भए। त्यसपछि गम्भीरसिंह आफ्नो बहादुरी र सुरो स्वभावका कारण वढुवा हुँदै कर्णेलसम्म भए।’
यसैगरीमा भारतमा सन् १८५७ मा भारतमा घटेको सैन्य विद्रोह साम्य पार्न नेपालका प्रधानमन्त्री जङ्गबहादुर राणाले भारतीय इस्ट इण्डिया कम्पनीलाई चौध हजार फौज सैनिक सहयोग गरेका थिए। यो नेपालले विदेशी राष्ट्रलाई सैन्य सहयोग गरेको पहिलो घटना थियो। यसै कारवाहीमा गम्भीरसिंहले अभूतपूर्व बहादुरी प्रस्तुत गरेको कुरा त्यहाँ पनि उल्लेख छ। त्यसै बखत बहादुर कर्णेलले आफुलाई एक्लै घेरा हाली मार्न आउने सात जना सरदारहरूलाई मार्न सफल भए।
माथि चर्चा गरिएको तस्वीरले यही युद्धलाई देखाएको छ। जहाँ आफूलाई चोट लागेपछि पनि बहादुर कर्णेल लडाइँ गरिरहेका छन्। उनको पेटमा तरबारले काटेको छ भने चिउँडोमा पनि घाउ छ। तर खुकुरी उज्याएर उनी लडाइँ गरिरहेकै छन्।
बहादुर कर्णेलको साहस तत्कालीन समयमा निकै चर्चित रहेको बताउँछन् पुर्षोत्तम शमशेर जबरा। बयानब्बे वर्षीय जबरा सानो छँदादेखि नै उनका पिता, काका तथा अन्य उच्चपदस्थ सैनिक अधिकृतहरू बहादुर कर्णेलको बारेमा बेलाबेलामा कुरा गरिरहन्थे।
‘मलाई बहादुर कर्णेल त्यस चर्चाले निकै आकर्षित गर्यो’, उनी सुनाउँदै गए।
‘यसपछि इतिहास लेखनतर्फ मैले आफूलाई अघि बढाएँ। लेखनको लागि विभिन्न सामाग्री खोजि गर्ने क्रममा राणाकालीन ऐतिहासिक दस्तावेजहरू तथा तस्वीहरू फेला पारेँ। आफ्ना हजुरबुबा फिल्ड मार्सल रूद्रशमशेरले सुनाएका धेरै घटनाक्रमहरू पनि टिपोट गरेँ।’
यसक्रममा जबराले राणा प्रधानमन्त्रीहरूसँग बसेर बहादुर कर्णेल लगायत सैनिक अधिकृतहरूले खिचाएको तस्वीर पनि फेला पारे। आफ्नो पुस्तक ‘सुनेका र सम्झेका कुराहरू’मा जबराले बहादुर कर्णेलको बारेमा तस्वीरसहित एक अध्याय लेखेका छन्।
‘यो तस्वीर बहादुर कर्णेलको नै हो किनभने पातलो ज्यानका जुँगा पालेका यी कर्णेलले मात्रै सातजना शत्रुहरूको ज्यान लिन सफल भएका थिए,’ जबराले भने।
तस्वीरमा देखिएका मुसलमान सरदारहरूको हत्या गर्ने क्रममा बहादुर कर्णेललाई ठूलो चोट लागेको थियो। मुसलमानहरूले उनलाई अपमान गर्दै कहिले पेट काटिदिने त कहिले चिउँडो काटिदिने गर्न थाले। तर बहादुर कर्णेलले पनि आफ्नो काटिएको पेटबाट उछिट्टिएका आन्द्रा बटुकाले पेटभित्रै छिराएर पटुका बाँधी युद्ध गरिरहे भन्ने भनाइ पनि चर्चित छ।
गम्भीरसिंहको साहसलाई सम्मान गर्दै प्रधानमन्त्री जङ्गबहादुरले उनको नामको अगाडि ‘बहादुर’ लेख्न पाउने गरी उपाधि प्रदान गरेका थिए। साथै लामो समयसम्म राष्ट्रसेवा गरेकाले तत्कालीन सरकारले उनलाई सर्वोच्च पदक ‘नेपाल तारा’ले सम्मानित गरेको थियो।
सैनिक संग्रहालय छाउनीमा धेरै पुराना तस्वीरहरू संकलन गरिएको छ। साथै नेपाली सेनाले युद्ध गर्दै गरेका चित्र कलाकारहरूलाई बनाउन लगाई राखिएको छ। यिनै चित्रमध्ये एक चित्रमा बहादुर कर्णेललाई पनि नायकको रुपमा देखाइएको छ। विदेशी भूमिमा यसरी अभूतपूर्व बहादुरी देखाएकोले नै उनलाई बहादुर कर्णेलको पदवी मिलेको हो भन्ने कुरा सैनिक इतिहासमा लेखिएको छ।
यस्तै संग्रहालयमा राखिएका श्री ३ प्रधानमन्त्रीहरूसँगको नेपाली उच्चपदस्थ सैनिक अधिकृतहरूको सामुहिक तस्वीरमा पनि बहादुर कर्णेललाई देख्न सकिन्छ। उनले नेपालको तत्कालीन सर्वोच्च पदवी ‘सुप्रसिद्ध मान्यवर नेपाल तारा’ प्राप्त गरेका थिए।
उनको निधन वि.सं १९७९ मा भएको थियो।
बहादुर कर्णेलले यसरी लडाइँ गर्दै गरेको चित्र रायमाझी कूलको वंशावली पुस्तकको आवरण पृष्ठमै छ। वंशावलीका सम्पादक खेमबहादुर रायमाझीका अनुसार यो चित्र २०२० को दशकतिर बनाइएको हो। बहादुर कर्णेलका नाति एवं पूर्व रथी दानगम्भीर सिंह रायमाझीको निवासबाट आफूले यो चित्र ल्याएर वंशावलीमा राखेको बताउँछन् खेमबहादुर।
इतिहासकार दिनेशराज पन्त पनि राणाकालीन नेपाली इतिहासमा बहादुर कर्णेलको प्रसंग बारम्बार आइरहने बताउँछन्। बहादुर कर्णेलले नेपाल र भोटबीच भएको अन्तिम युद्ध पनि लडेको इतिहास पनि छ। उनका अनुसार बहादुर कर्णेलले जंगबहादुर, रणोद्वीपसिंह, वीरशमशेर, देवशमशेर तथा चन्द्रशमशेर गरी पाँचजना प्रधानमन्त्रीको शासनकालमा देश सेवा गरेका थिए।
( विभिन्न पत्रपत्रिका, वंशावली, सैनिक इतिहास तथा इतिहासकारहरूसँगको कुराकानीमा आधारित)