युनिसेफको नायव कार्यकारी निर्देशक फतोमाता एनदायले भूकम्प गएको तेस्रो वर्षको सन्दर्भ पारेर दोलखामा स्वास्थ्य चौकी भवन हस्तान्तरण गरेकी छिन्। बिहीबार दोलखाको मलुमा भएको हस्तान्तरण कार्यक्रममा उनले नयाँ भवनको चावी स्वास्थ्य संस्था इन्चार्ज दीपेन्द्र खड्कालाई हस्तान्तरण गरेकी हुन्।
भूकम्प प्रभावित जिल्लामा ७४ वटा स्वास्थ्य संस्था निर्माण गर्ने भनेको युनिसेफले हस्तान्तरण गरेको यो ४३ औं स्वास्थ्य संस्था हो ।
'२०७२ को भूकम्पले प्रभावित जिल्लाको स्वास्थ्य हेरचाह प्रणालीमा गम्भीर असर पारेको थियो र बालबालिका र त्यहाँका बासिन्दाहरू थप स्वास्थ्य जोखिममा पार्यो', हस्तान्तरण समारोहमा एनदायले भनिन् ।
स्वास्थ्य राज्यमन्त्री पद्माकुमारी अर्यालले सरकारले बनाउने योजनाको गरेको करीव तीन सय स्वास्थ्य संस्थामाध्ये ७४ वटा युनिसेफले बनाइदिन लागेको जानकारी दिइन्।
हस्तान्तरण गरिएका स्वास्थ्य संस्थामा प्रसूति कक्ष, मेडिकल उपकरण, पानीको सुविधा र सोलार प्यानलको माध्यमबाट पावर ब्याकअप प्रणाली पनि रहेको युनिसेफले जनाएको छ ।