प्रतिबन्धित स्थानबाट अवैध रूपमा बालुवा गिट्टी उत्खनन् तथा ओसार पसारमा प्रयोग गरिएको भन्दै प्रहरीले सात ट्रिपर नियन्त्रणमा लिएको छ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ को ग्वारखोलाबाट बिहिबार बिहान अवैध रूपमा बालुवा गिट्टीको चोरी निकासी गर्न प्रयोग गरिएका सातवटा ट्रिपर नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको हो।
जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय तुलसीपुरको संयुक्त टोलीले ग्वारखोलाबाट ती ट्रिपरहरू नियन्त्रणमा लिएको हो।
जिल्ला समन्वय समितिको निर्देशनमा ट्रिपर नियनत्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दाङकी प्रमुख एसपी दुर्गा सिंहले जानकारी दिइन्। गत सोमबार मात्रै जिल्ला समन्वय समितिले दाङको ग्वारखोला र राप्ती नदीको उत्खनन् हाललाई बन्द गर्ने निर्णय गरेको थियो। तर, त्यस विपरीत तस्करहरूले बालुवा गिट्टीको चोरी निकासी कायमै राखेको हुँदा ट्रिपरहरू नियन्त्रणमा लिनुपरेको प्रहरीले जानकारी दिएको छ।
प्रहरीले रा १ ख १४९८, रा १ ख १३५३, रा १ ख १३४०, रा १ ख १५५१, रा १ ख १४०५, ना ६ ख ६५०५, ना ६ ख ६५०४ र ना ६ ख ६८९५ नम्वरका सात वटा ट्रिपर ग्वारखोलाबाट नियन्त्रणमा लिइएको जानकारी दिएको छ । बालुवा गिट्टी लोडेड ती ट्रिपरहरू हेमन्तपुर प्रहरी चौकीमा राखिएको छ। दाङमा ‘सेतो सुन’ भनिने बालुवा गिट्टी तथा ढुङ्गाको उत्खननमा टोले गुन्डादेखि जिल्लामै कहलिएका व्यापारी समेतको सम्लग्नता रहने गरेको प्रहरीले बताउँदै आएको छ ।
हेर्नुहोस् तस्बिरहरू:








