पश्चिमाञ्चज क्षेत्रिय अस्पताल (पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठान)को फार्मेसीमा औषधि अभाव भएपछि बिरामीहरू बाहिर क्लिनिकबाट महङ्गोमा औषधि किन्न बाध्य भएका छन्।
स्वास्थ्य विमा मार्फत निःशुल्क पाउने औषधिहरूसमेत अस्पातलको फार्मेसीमा नपाउँदा विरामी महङ्गो मूल्य तिरेर औषधि किन्न बाध्य भएका छन् ।
बिरामीका अनुसार अस्पतालमा पछिल्लो २ महिना यता औषधि अभाव भएको हो।
अहिले अस्पतालका फार्मेसीमा टासीहरू खाली देखीएका छन् । अस्पतालले भएको औषधि दिँदै नभएको औषधि किन्न बाहिरबाट पठाउने गरेको छ। जसको प्रत्यक्ष मारमा स्वास्थ्य विमा गरेका, असहाय, गरिब र बृद्धबृद्धा परेका छन् ।
मृगौलाका बिरामी भएका श्रीमानलाई डाईलाइसिस गराउन अस्पताल आएकी पोखरा ३१ की सावित्री विकले आधा औषधी मात्रै पाएको गुनासो गरिन्।
श्रीमान् बाबुराम विकलाई सातामा दुई पटक डाईलाइसिस गर्न ल्याउने गरेको उनको भनाई थियो। ‘हप्तामा दुई पटक डाईलाइसिस गर्ने लिएर आउँछु, प्रत्येक पटक कुनै कुनै औषधि छैन भन्दै बाहिर पठाउँछन्,’ उनले भनिन्। स्वास्थ्य विमा गराएकी उनले महङ्गो औषधि त झनै नपाइने गुनासो गरिन्।
उनी मात्रै होइन बिहीबार अस्पतालमा उपचार गरि औषधि किन्न पुगेको पोखरा न्युरोडका हरीस् चौधरीले ज्वरोको औषधिसमेत अस्पतालमा नपाएको बताए। ज्वरो आएर उपाचारका लागि पुगेका उनले डाक्टरले लेखिदिएका दुई वटा औषधि मध्ये एउटा मात्रै पाएको बताए। उनले ज्वरो आएका बेला खाने औषधि समेत नपाएको बताए।
पश्चिमाञ्चल क्षेत्रिय अस्पतालको फार्मेसीमा १३ सय भन्दा बढी औषधिहरु राखिएका छन् तर यति बेला फार्मेसीका टासिहरु खाली खाली देखिन्छन्। स्वास्थ्य विमान गरेका बिरामीले ११ सय १८ थरी औषधि निःशुल्क पाउने गरेका छन् ।
नेपालको सार्वजनिक खरिद नियमावलीले औषधि खरिद गर्दा ढिलाई भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठानका निर्देशक अर्जुन आर्चायले बताए। उनले अस्पतालले औषधिको टेन्डर गरि सकेपछि स्वास्थ्य विमा सञ्चालनमा आएका कारण पनि औषधि अपुग भएको बताए।
उनले टेन्डर भईसकेकाले एक/दुई दिनमा औषधि आउने दाबी गरे। नेपालमा डाक्टरहरुले बिरामीलाई औषधि सुझाउँदा जेनेरिक अर्थात् त्यसमा रहेको रासायनिक मिश्रणको नामबाट नभई ब्राण्ड अर्थात् व्यापारिक नाममा लेखिदिने प्रचलन छ तर सरकारी अस्पताल स्वामित्वका औषधि पसलमा धेरै ब्राण्डका औषधी राख्न नसक्दा पनि बिरामीले नै खोजेको औषधि नपाउने गरेको बताए।