हाम्रो मौलिकता बुझेका दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ ‘नेपाल भोकेशनल एकेडेमी’को उद्घाटन बिहीबार भएको छ। एकेडेमीले ४० जना प्राज्ञिक र एकसय ६० जना तालिमे गरेर वर्षेनी दुइसय जना प्राविधिक जनशक्ति उत्पादन लक्ष्य लिएको छ।
मौलिक नेपाली घर उभ्याउनका निम्ति विशेषत सिकर्मी, डकर्मी, बज्रकर्मी, विजुली, पाइप फिटिङलगायतका उच्चस्तरको जनशक्ति तयार पारिने जानकारी एकेडेमीका संस्थापकले दिएका छन्।
रविन्द्र पुरीले दान दिएको भक्तपुरस्थित सात करोड मूल्य बराबरको जग्गामा जर्मनेली संस्था ‘सुलर हिलफे फ्यो नेपाल’ले भवन बनाएको हो। जर्मनेली संस्थाले यसका लागि तत्काल पाँच करोड सहयोग गरिसकेको छ भने यसलाई भविष्यमा विस्तार गर्दै लैजाने योजना छ। एकेडेमीको उद्घाटन संस्थाका प्रमुख योर्क बार दम्पत्तिले गरेका थिए। शिक्षामन्त्री गिरिराजमणि पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा जर्मनेली राजदूत रोलान्ड शेफरलगायतको उपस्थिती थियो।
‘मुलुकमा अहिले दक्ष प्राविधिक जनशक्तिको चरम अभाव भइरहेकै बेला हाम्रो मौलिकतासमेत बुझेका विद्यार्थीहरु तयार पार्न एकेडेमी स्थापना गरिएको हो,’ नेपालतर्फका संस्थापक रविन्द्र पुरीले भने, ‘यसले बेरोजगार युवापुस्तालाई प्रशस्त अवसरको बाटोसमेत खोल्नेछ।’
शिक्षा र तालिम सँगसँगै रोजगारको अवसर पनि प्रदान गर्दै तयार पारिने जनशक्ति भएकाले यस एकेडेमीका उत्पादनहरु अब्बल हुने दाबी पुरी गर्छन्।
पुरीका अनुसार यस एकेडेमीलाई भविष्यमा होमियोप्याथिक र आयुर्वेदिक चिकित्सक तयार पार्ने संस्थाका रुपमा पनि विकास गरिनेछ। ग्रामीण भेगकै विद्यार्थीहरु ल्याएर तयार पारिने चिकित्सकले फर्केर तीनै ग्रामीण भेगको सेवागर्ने उद्देश्यका साथ शिक्षा दिइने लक्ष्यसमेत एकेडेमीले राखेको छ। पुरीले केहि वर्षदेखि भक्तपुरमै होमियोप्याथिक उपचार सेवासमेत सञ्चालन गर्दैआएका छन्।
‘अहिलेलाई भक्तपुर वरपरकै विद्यार्थीहरुलाई भर्ना लिने योजना गरेका छौं,’ पुरीले भने, ‘अर्को वर्ष एकेडेमीकै निम्ति छात्रावाससमेत तयार पार्ने योजना सम्पन्न भएपछि यहाँ नेपालभरिका विद्यार्थी हुनेछन्।’
जर्मनेली संस्थाका प्रमुख लगायतको टोली नेपाल भ्रमणमा रहेको मौका पारेरै बिहीबार उद्घाटन गरिएको पुरीले जानकारी दिए। उनका अनुसार एकेडेमीमा पढाइ चाहिँ आगामी अगस्त महिनादेखि सुरु हुनेछ।
यस जर्मनेली संस्थाले बितेको १८ वर्षमा नेपालको ग्रामीण भेगमा नौवटा स्कुल भवन र केहि स्वास्थ्य केन्द्र तयार पारिसकेको छ।
‘यो हाम्रो संस्थाकै अहिलेसम्मको सबैभन्दा महत्वपूर्ण परियोजना हो,’ जर्मनेली संस्थाका प्रमुख योर्क बारले भने, ‘यहाँका शिक्षक र प्रशिक्षकहरुलाई जर्मनीको मापदण्ड अनुकूल जनशक्ति उत्पादन गर्नसक्ने हिसाबले तयार पार्नेछौं।’
त्यसका निम्ति जर्मनीदेखि प्रशिक्षकहरु ल्याएर ‘टिच द टिचर’ कार्यक्रम सञ्चालन गर्ने उद्देश्य रहेको जानकारी उनले दिए।
‘हामी अहिलेसम्म स्कुल र अस्पतालमा केन्द्रित भएता पनि भुइँचालो आएपछि यहाँ प्राविधिक ज्ञान भएका तन्नेरीहरुको अत्यन्तै खाँचो महशुस भयो,’ उनले भने, ‘त्यसपछि नै नेपाल र जर्मनी दुवैतिरका सहयोगीहरुसँग कुराकानी गरेर यो एकेडेमीको कामलाई अघि बढाउने निधो गरेका हौं।’
यो एकेडेमी सञ्चालन भएर राम्रो परिणाम दिएछ भने मुलुकका अन्य भागमा पनि यस्तै एकेडेमी स्थापना गरिदिने सोँच रहेको जानकारीसमेत प्रमुख योर्क बारले दिए।
जर्मनेली संस्थाको सहयोगमा अहिलेसम्म बनेका स्कुल र स्वास्थ्य केन्द्रका भवनहरु सबै मौलिक नेपाली शैलीमा तयार भएको छ। यस्ता संरचनाहरुले त्यहाँ पढ्ने भावी पुस्तालाई नेपालको इतिहास र मौलिक सुन्दरतासँग नजिक्याउनुका साथै भविष्यमा त्यसको संरक्षणको प्रेरणा दिने विश्वाससमेत उनले प्रकट गरे।
‘यो एकेडेमी पनि मौलिक नेपाली शैलीबाट तयार पार्नुको कारण उही हो,’ उनले भने, ‘यहाँबाट भोली जति पनि सिकर्मी र डकर्मी पैदा हुन्छन् उनीहरुले सबैभन्दा बढ्ता माया यसै नेपाली शैलीको गर्नेछन्।’