लुम्बिनीमा हुन गइरहेको २५६२ औं बुद्धजयन्ती तथा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन अवधिभर भैरहवा लुम्बिनी सडक खण्डमा ट्रिपर, ट्रक, ट्याक्टर र लरीलगायतका मालवाहक गाडी सञ्चालनमा रोक लगाइएको छ।
तीन दिनसम्म मनाइने बौद्ध सम्मेलन र बुद्ध जयन्तीको लागि विभिन्न राष्ट्रबाट विशिष्ट पाहुना एवं बौद्ध धर्मावलम्बी लुम्बिनी आउने भएकोले सडकमा धूलोधुवाँ र सवारीको चापलाई मध्यनजर गर्दै दिउँसोको समयमा मालवाहक गाडीलाई आवतजावतमा रोक लगाइएको हो।
जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै वैशाख १५ गतेदेखि १७ गतेसम्म भैरहवा बुद्धचोकदेखि लुम्बिनीसम्मको सडकखण्डमा बिहान ६ बजेदेखि बेलुका ८ बजेसम्म मालवाहक गाडी नचलाउन आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रशासकीय अधिकृत विष्णुप्रसाद ज्ञवालीले राष्ट्रपति, प्रधानमन्त्रीसहित विदेशबाट विशिष्ट पाहुनाहरूको आवागमन हुने हुँदा यातायात सेवा प्रभावित नहोस् भनी मालवाहक गाडी नचलाउन आग्रह गरिएको बताए।
पछिल्लो समय सुरू गरिएको सडक विस्तारको कारण भैरहवा लुम्बिनी सडकखण्ड अस्तव्यस्त बनेको छ।
सडकको दायाँबायाँ क्षेत्रलाई माथि उठाउन माटो बिच्छाउने र सडकखण्डमा रहेका पुल निर्माणको कारण सवारी साधनलाई दुईतर्फी आवतजावतमा समस्या हुने गरेको छ।
त्यसैमाथि, भैरहवा लुम्बिनी सडकखण्डमा रहेका उद्योग र गौतमबुद्ध विमानस्थलको लागि आवश्यक सामग्री बोकेर दैनिक सयौँ मालवाहक गाडी ओहोरदोहोर गर्दा उड्ने धूलोधुवाँका कारण लुम्बिनी क्षेत्र अत्यन्त प्रदुषित बनेको छ।
१५ गते हुने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने छन् भने १७ गतेको बुद्धजयन्ती मूल समारोह उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीबाट हुने कार्यक्रम तय गरिएको छ।
लुम्विनी, नेपालः भगवान बुद्धको जन्मस्थल, बौद्ध धर्मको उद्गमभूमि तथा विश्व शान्तिको मुहान भन्ने नाराका साथ हुन गइरहेको बौद्ध सम्मेलनमा १५ देशबाट संस्कृति तथा धार्मिक मामिला मन्त्री र २३ देशका विभिन्न तहका बौद्ध अनुयायीहरूको सहभागिता हुँदैछ ।