विराटनगरबाट प्रहरीले एक थान पेस्तोल र ठूलो परिमाणमा अवैध लागूऔषधसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
विराटनगर महानगरपालिका–४ स्थित नहरको छेउमा मंगलबार शंकास्पद अवस्थामा रहेका यादवसहित ७ जना भारतीय नागरिकहरूलाई प्रहरीले पक्राउ गरी खानतलासी गर्दा यादवको साथबाट उक्त हतियार तथा लागूऔषध बरामद भएको हो।
प्रहरीले उनीहरू सवार भारतीय नम्बर प्लेटको ३ वटा मोटरसाइकल समेत बरामद गरेको छ।
भारत बिहार अररिया बतनाहा का ३० वर्षीय प्रमोद भन्ने विनोद यादवको साथबाट प्रहरीले मेड इन युएसए लेखेको अटोमेटिक पेस्तोल १ थान, गोली ६ राउण्ड बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
त्यसैगरी, उनको साथबाट विभिन्न कम्पनीका मोबाइल ६ थान, नगद ८१ हजार तथा लागूऔषध एभिल १ हजार ७ सय ७५ एम्पुल, डाइजेल्याव ५ सय एम्पूल, स्पास्मो प्रोक्सिभन १ हजार ७ सय ७६ थान, नाइट्रोसन ट्याब्लेट ७ सय २५ थान, लुपिजेसिक ५ सय २५ एम्पुल, फेनारगन १ सय २५ एम्पुल र डाइलेक्स डिसि १३ बोतल समेत बरामद गरेको प्रहरीले जनाएको छ।
घटनासम्बन्धी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।