एउटा विकास आयोजना सम्पन्न हुन कति समय लाग्ला ? २ वर्ष, ४ वर्ष, ५ वर्ष, १० वा २० वर्ष। तर, नेपाललाई विश्वमै चिनाउने शान्तिको अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीको गुरुयोजना ४० वर्षदेखि अधुरै छ।
लुम्बिनी क्षेत्रको संरक्षण र र योजनाबद्ध विकास गर्न सन १९८७ मा लुम्बिनी गुरुयोजना बनाउन सुरू गरिएको थियो। १४ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य भए पनि लुम्बिनी विकास कोषको प्रतिबद्धता र जिम्मेवारीबोधको अभावले गुरुयोजनाले गति लिन नसकेको संस्कृतिविद् गितु गिरीले बताइन्।
त्यसैगरी, कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले पनि योग्य र दक्ष पदाधिकारीको अभावमा लुम्बिनी गुरुयोजना निर्माणको काममा ढिलाइ हुनु नेपालका लागि लज्जास्पद अवस्था भएको बताए।
गुरुयोजना निर्माणका लागि हालसम्म करिब ८ अर्ब ६९ लाख ३० हजार खर्च भइसकेको छ। जसमा जग्गा अधिग्रहण र भौतिक संरचना निर्माणमा नेपाल सरकारको साढे २ अर्ब र विभिन्न देशले बनाएका बौद्ध गुम्बाहरूको निर्माणमा साढे ५ अर्ब खर्च भएको छ। अझै २५ प्रतिशत काम बाँकी रहेको र यो सम्पन्न गर्न करिब ६ अर्ब आवश्यक पर्ने कोषका योजना प्रमुख सरोज भट्टराईले जानकारी दिए। गुरुयोजना निर्माणको कामलाई पुरा गर्न अझै ४ वर्ष लाग्ने कोषको अनुमान छ।
जापानी वास्तुकलाविद् केञ्जो टाँगेले बनाएका उक्त गुरुयोजना अन्तरगत १ हजार १ सय ५५ विगाहामा पवित्र उद्यान, मोनाष्ट्रिक जोन र न्यू लुम्बिनी भिलेजका रूपमा विकास गर्ने योजना छ। विश्वमा नेपाललाई चिनाउने गौतम बुद्धको जन्मस्थल विकासको नाममा सञ्चालित गुरुयोजनाको यो स्थितिले अन्तर्राष्ट्रिय क्षेत्रमै ढिलासुस्तीको चरम नमूना प्रस्तुत गरिरहेको छ।