प्रहरीले गायब साढे ३३ किलो सुन प्रकरणका मुख्य नाइके मोरङ उर्लाबारीका ३५ वर्षीय गोरे भनिने चूडामणि उप्रेतीलाई पक्राउ गर्न इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गरिएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सेटिङमा बाहिरिएको ३३ केजी सुन र योसँगै जोडेर भएका तीन जनाको मृत्यु प्रकरणमा मुख्य व्यक्ति भनी प्रहरीले बताउने गरेको गोरे वा रूपेश भनि चिनिने चूडामणि उप्रेतीलाई खोज्न रेडकर्नर नोटिस जारी गरेको हो।
यस्तो नोटिस जारीपछि अभियुक्तलाई अन्तर्राष्ट्रिय रूपमै मोस्ट वान्टेड सूचीमा राखि १ सय ९० मुलुकका प्रहरीले खोजी गर्ने छन्।
तीन जनाको मृत्यु र उच्च प्रहरी अधिकृत मुछिएको यो सुन प्रकरणका नाइके हुन्- चुडामणि उप्रेती तर उनी गोरे नामले बढि चिनिन्छन्।
सनमको हत्यापछि व्यापक खोजी गरे पनि प्रहरीले अहिलेसम्म गोरेलाई पक्रन सकेको छैन।
मोरङको उर्लाबारीका गोरेलाई नेपालमा हुने सुन तस्करीको डन अर्थात् ‘गोल्ड डन’ पनि भनिन्छ। नेता, व्यापारी र प्रहरी उच्च अधिकारीसँगको सम्बन्धका आडमा उनले सुन तस्करी गरिरहेको प्रहरी स्रोतले सेतोपाटीलाई बतायो।
मध्यम वर्गीय परिवारमा जन्मिएका गोरेका बाबु नेपाल प्रहरीका सहायक निरीक्षक थिए।
गोरेले भारतीय सेनामा जागिर खाने प्रयास गरे पनि सफल भएनन्।
उनी नेपाली सेनामा भर्ना भए, तालिम पनि गरे। सेनाको जागिर छोडेर केही समयपछि उनी दुबई गए। दुबई प्रहरीमा जागिर खाए। त्यही क्रममा दुबईका सुन माफियासँग उनको सम्बन्ध गाँसियो।
केही समयपछि गोरे नेपाल फर्किए।
उच्च तहका नेतासँग हिमचिम बढाउन थाले। उनले प्रभावमा पार्नकै लागि मान्छे हेरेर महंगा उपहार दिए।
स्थानीय तह र संसदीय चुनावका बेला राजनीतिक दलका उम्मेदवारहरूलाई सहयोग गरेको प्रहरी अनुसन्धानमा देखिएको छ। स्थानीय चुनावमा उनले केही नेतालाई गाडी पनि किनिदिएको थिए।
लामो समयदेखि अवैध सुनको कारोबार गर्दै आएका उनी त्यही सम्बन्धका आडमा उम्किँदै पनि आएका थिए।
२०७३ पुस २१ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बरामद गरेको ३३ किलो अवैध सुनका मालिक गोरे नै भएको भरिया र अन्य अभियुक्तले बयान दिएका थिए। उच्च पहुँचकै भरमा त्यतिबेला गोरेको ठाँउमा अन्य केही व्यक्तिलाई कारबाही गरेर उनलाई उम्काइएको स्रोतको दाबी छ।
सिआइबीले सुन तस्करीमा संलग्न ३३ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा दुई मुद्दा दायर गरेको थियो। मुद्दामा १५ करोड ४० लाख चार हजार आठ सय ८ रुपैंया २६ पैसा र तिर्नुपर्ने भन्सार महसुल र एक करोड ४२ लाख ८३ हजार आठ सय ९२ रुपैंया ४० पैसा गरी कूल १६ करोड ८२ लाख ८८ हजार सात सय रुपैंया ६६ पैसा बराबरको बिगो बमोजिम जरिवाना र बिगो जफतको दाबी माग गरिएको थियो।
उनी खुलमखुला काठमाडौंमा हिँडिरहेका थिए प्रहरीले भने सो मुद्दामा गोरेलाई फरार भनेको थियो।
स्रोतका अनुसार त्यतिबेला गोरेकै डिजाइनमा पक्राउ परेका भरियासँग कनेक्सन भएका मानिसलाई पनि मुछियो।
‘गोरेले जसको नाम दिए उनैलाई मुख्य अभियुक्त बनाइयो जसको भरियासँगै अन्य कारणले टेलिफोन कनेक्सन थियो, सुनसँग थिएन,’ स्रोतले भन्यो।
तस्करीको सुनको मालिक भनेर पोलेका गोरे पहुँचकै भरमा सामान्य कारबाहीबाट उम्केपछि उनको मनोबल बढ्यो। अवैध सुन नेपाल भित्र्याउने क्रम झनै बढ्यो।
फागुन पहिलो साता विमानस्थल हुँदै भित्रिएको ३३ किलो सुन हराएपछि गोरेले सुन लुकाएको आशंकामा आफ्ना मुख्य सहयोगी शाक्यलाई गौरीघाटबाट उठाएर सप्तरी लगेर यातना दिएर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
हत्यापछि गोरेले नै प्रहरीलाई फोन गरेर घटना मिलाउन भन्दै मद्दत मागेका थिए। उनको मद्दतलाई स्वीकार गरी महानगरीय प्रहरी महाशाखाको टोली सुनसरी पुगेको थियो।
सुनसरीमा शव फेला पारे पनि महाशाखाको टोलीले मोरङमा लगेर शवको बरामदी मुचुल्का बनाएको स्रोतले बतायो।
सनमको हत्यापछि सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा बनेको छानबिन समितिले वैशाख दोस्रो सातासम्म पूर्वडिआईजी गोविन्द निरौलासहित २० जनालाई नियन्त्रणमा लिएको छ तर गोरे भने अझै फरार छन्।