पूर्वी क्षेत्रका विभिन्न ठाउँबाट आउँदा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको धुलियाबिटदेखि सुरु हुन्छ, चार लेनको बाटो। सुर्खेत–जुम्ला सडक खण्डअन्तर्गत पर्ने उक्त चार लेनको सडक नै वीरेन्द्रनगरको मुख्य सडक हो, जुन निर्माणाधीन छ।
चार लेनको बाटो यात्रा गर्ने क्रममा बीचमा पुगिसकेपछि बाटोको तल्लोपट्टि एउटा गेट देखिनेछ, जहाँ ‘बुलबुले उद्यान’ प्रवेशद्वार लेखिएको हुनेछ। ‘बुलबुले उद्यान’ पहिलेको संरचनाभन्दा विलकुलै फरक बन्न लागेको छ। उपत्यका नगर विकास समिति यसको गुरुयोजनालाई अन्तिम रूप दिने प्रक्रियामा छ।
गुरुयोजनाअनुसार अब बुलबुले उद्यानभित्रको मुख्य ताल आधाभन्दा बढी क्षेत्रफलमा थप फैलिने छ। यसमा डुंगा सवार गर्न सकिने छ। माथिल्लो एक छेउमा कमलका फूल फुलाइने छ, जसलाई पर्खाल लगाएर छुट्याइने छ। उद्यानभित्र विभिन्न किसिमका सेवा पनि थप गरिँदै छ।
उद्यानभित्र टिकट घर, स्नान घर, स्विमिङ पुल, पिकनिक क्षेत्र, डुंगा सवारी, रंगीन बगैँचा, बाल उद्यान, धार्मिक मानिसका लागि भौतिक संरचना लगायत सुविधा रहने छन्। यसअघि यहाँ यस्ता कुनै सुविधा थिएनन्। यसअघि थियो त कोचाकोच गरेर मानिस नुहाउन मिल्ने अनि वनभोज गरेर बगैँचा छेउ फोहर थुपार्ने ठाउँ।
अब बनभोजका लागि पनि छुट्टै सुविधायुक्त क्षेत्र उद्यानभित्र नै निर्माण गरिँदै छ। गुरुयोजना अनुसार अहिले नुहाउन प्रयोग गरिएका उद्यानभित्रका धारा अब प्लाजाका रूपमा स्थापना हुने छन् भने नुहाउन छुट्टै धारा निर्माण गरिने छ। पहिले वनभोज खाने स्थलका रूपमा प्रयोग हुने ठाउँमा अब बाल उद्यान रहने छ।
करिब डेढ बिगाह क्षेत्रफलमा फैलिएको बुलबुले ताल अब साढे तीन बिगाह पु¥याइने छ। उद्यानभित्र साना ठूला गरी ३ सयभन्दा बढी सवारी साधान पार्किङ गर्न मिल्ने पार्किङ स्थल बनाइने छ। उद्यानभित्रै फूलका बिरुवाको नर्सरी पनि स्थापना गरिने उपत्यका नगर विकास समितिका अध्यक्ष नारायण कोइरालाले जानकारी दिए।
यहाँको अर्को पर्यटकीय क्षेत्र काँक्रेबिहारको पनि पुनर्निर्माण जारी छ। सुर्खेत भन्नेबित्तिकै देउतीबज्यै मन्दिर यहाँको प्रमुख धार्मिक क्षेत्र हो। यसको पनि स्तरोन्नति गरिँदै छ।
स्तरोन्नतिकै लागि यहाँ धनधान्याञ्चल विराट महायज्ञसमेत आयोजना गरिएको छ। त्यसबाट उठेको रकम देउतीबज्यैको स्तरोन्नतिमा खर्च गरिने महायज्ञ आयोजक समितिका महासचिव राकेश पाण्डेले जानकारी दिए। उनका अनुसार देउतीबज्यैको स्तरोन्नतिभित्र सडक, कम्पाउण्ड वाल, फोहर विसर्जन क्षेत्र, पार्किङ् क्षेत्र आदि पर्ने छन्।
बजार क्षेत्रको ९ किलोमिटर सडक चार लेनको बनिरहेको छ। तीनवटा प्याकेज चार लेनको बनाएर निर्माण हुँदै छ। जसमध्ये पहिलो निर्माण भैसकेको छ भने २ र ३ प्याकेजको काम धमाधम भैरहेको छ।
कर्णाली प्रदेशको स्थायी राजधानीका रुपमा वीरेन्द्रनगर घोषणा भैसकेको छ। यो चार लेनको सडक भने स्थानीय तहको चुनाव हुनुअघिदेखि नै काम सुरु भएको योजना हो। अहिले चार लेनको सडक बनिरहेको क्षेत्रमा पहिले अस्तव्यस्त बाटो थियो।
यो सडक आगामी वर्ष २०७६ असार २० गतेभित्र सम्पन्न गरिसक्ने गरी ठेक्का सम्झौता भएको डिभिजन सडक कार्यालय सुर्खेतका लेखा अधिकृत जगत शाहले जनकारी दिए।
सडककै कुरा गर्दा वीरेन्द्रनगर उपत्यका घेर्ने गरी ३८ किलोमिटर चक्रपथ बन्दै छ। जसको २०७४ चैत २३ गते मात्र ठेक्का सम्झौता भएको छ। यसले वीरेन्द्रनगरका १, २, ४, ५, ७, ९, १०, ११, १२ र १३ नम्बर वडालाई समेट्ने छ।
[caption id="attachment_152927" align="alignnone" width="1024"]
सुर्खेतको वीरेन्द्रनगर सहर। तस्बिर: दिपकजंग शाही/सेतोपाटी[/caption]
यसले ओगट्ने क्षेत्रफलन ३० मिटर चौडाई भए पनि हाललाई यो १६ मिटरको बन्ने डिभिजन सडक कार्यालयका इन्जिनियर दिपेन्द्र विष्टले बताए।
‘सम्झौताअनुसार काम भए अबको २ वर्षभित्र चक्रपथ बनिसक्छ,’ इन्जिनियर विष्टले भने– ‘सडक निर्माण क्रममा आर्थिक रूपले समस्या छ तर काम भने भैरहेको छ।’ यहाँको विमानस्थल पनि यही चक्रपथभित्रै पर्छ।
वीरेन्द्रनगर बजारभित्र फुटपाथमा व्यापार गरी बसेकाहरू दिनहुँ वीरेन्द्रनगर नगरपालिकाको कार्यालय अगाडि गएर धर्ना दिइरहेका छन्। सहर व्यवस्थित गर्ने योजनाअनुसारै फुटपाथका व्यापारीलाई नगरपालिकाले हटाइदिएको छ।
आफूहरुलाई फुटपाथबाट हटाए पनि व्यवसाय निम्ति उचित व्यवस्था गरिदिनुपर्ने बताउँदै आएका छन् भने नगरपालिकाले जग्गा अभाव देखाउँदै आएको छ।
‘प्रदेशको राजधानीजस्तो ठाउँमा फुटपाथमा ठेला तथा घुम्ती राख्दा साह्रै नराम्रो देखिन्छ,’ नगरपालिकाकी उप–मेयर मोहनमाया ढकालले भनिन्, ‘उनीहरूलाई व्यवस्थापन गर्न प्रशस्त सरकारी जग्गा छैन, निजी जग्गामा उनीहरुले बस्न मान्दैनन्।’ नगरपालिकाले यसरी फुटपाथ व्यवस्थापन गरिसकेपछि भने आजकाल बजार खुला देखिन थालेको छ।
कर्णाली प्रदेशलाई डिजिटल बनाउने प्रदेशको आन्तरिक मामिला तथा योजना मन्त्रालयको छ। यो योजनाअन्तर्गत मन्त्रालयले विभिन्न निकायसँग समन्वय गरी राजधानी वीरेन्द्रनगरका दुईवटा स्थानमा साइरन जडान गरेको छ। ती साइरनले कुनै अपराधजन्य घटना हुन लागेको थाहा पाए आवाज दिनेछन्।
मन्त्रालयले सोही योजनाअन्तर्गत प्रदेशभर सुरक्षा अभियान पनि चलाएको छ। विभिन्न सुरक्षा निकायको समन्वय रहने गरी प्रहरीले सडक सुरक्षा कार्यक्रम फागुनदेखि नै सुरु गरिसकेको छ। त्यसैअन्तर्गत केही सवारी साधनमा जिपिएस (ग्लोबल पोजिसनिङ सिस्टम) मेसिन जडान गरेको छ, जसले दुर्घटना तथा गाडी गुडिरहेको स्थानबारे जानकारी दिनेछ।
यसैगअन्तर्गत प्रदेशको कानून मन्त्रालयले प्रदेशका विभिन्न जिल्लाका मुख्य ठाउँमा सिसिटिभी क्यामरा जडान गर्ने योजनामा पनि छ। सबै ठाउँमा जोडिएका ती क्यामराको निगरानी राजधानीबाट गरिने प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
कर्णाली प्रदेशको सरकार गठन भएपछि प्रदेशलाई परिवर्तित रुपमा विकास गर्ने योजना आन्तरिक मामिला तथा कानुन मन्त्रालयले नै अगाडि ल्याएको थियो। आफ्नो मन्त्रालयले ल्याएका योजनाअन्तर्गतका प्रायः काम राजधानीबाटै सुरुआत हुने र यसले राजधानीलाई पहिलेको तुलनामा निकै फरक देखाउने आन्तरिक मामिला तथा कानुन मन्त्री नरेशसिंह भण्डारीको अपेक्षा छ।
सुर्खेतलगायत आसपास क्षेत्रका नागरिकको ठूलो संघर्षले सुर्खेतमा स्थापना भएको मध्यपश्चिमाञ्चल विश्वविद्यालयका कारण पनि वीरेन्द्रनगरको परिवर्तनमा साथ दिएको छ।
वीरेन्द्रनगरका खाली रहेका केही जग्गामा विश्वविद्यालयका भौतिक संरचना निर्माण हुँदै छन्। केही भौगोलिक रुपमा टाढा विश्विद्यालयका संकायका संरचना निर्माण हुने क्रमले ती ठाउँमा पुग्ने सडक निर्माणसँगै तिनको स्तरोन्नति गर्ने क्रम पनि जारी छ।
केही समयअघि छेउतिरको गाउँका रुपमा हेरिने वीरेन्द्रनगरको सानो सुर्खेत अहिले राजधानीमा जग्गा वा घडेरी किन्नेहरुको आकर्षणको केन्द्र बनेको छ। त्यहाँ मध्यपश्चिमाञ्चल विश्वविद्यालयको इन्जिनियरिङ संकाय स्थापना भएको छ। भवन निर्माण जारी छ। त्यहाँ पुग्न बाटो चौडा गरिएको छ। ठाउँठाउँमा कल्भर्ट निर्माण भएका छन्। बाटो चौडा गरिएको छ। पिच गर्ने क्रम चलिरहेको छ।
कर्णाली प्रदेशले अन्य सबै प्रदेशभन्दा पहिले नाम र राजधानी टुंगो लगाएको हो। साविकको मध्यपश्चिमाञ्चल विकास क्षेत्रको राजधानी रहेको सुर्खेतको वीरेन्द्रनगर नै अहिलेको प्रदेशको राजधानी स्थायी रुपमा कायम भएको छ।
राजधानी बनेसँगै सबैको प्रयासमा संघीय राजधानी काठमाडौंसँग हवाई सम्पर्कसमेत जोडिएको छ। काठमाडौंबाट सुर्खेत र सुर्खेतबाट काठमाडौं सिधै हवाई यातायात चल्नुले पनि वीरेन्द्रनगर सहरलाई परिवर्तित तुल्याएको छ।
राजा वीरेन्द्रका पालामा वीरेन्द्रनगरको गुरुयोजना निर्माण गरिएको थियो। वीरेन्द्रनगर नगरपालिकाले उपत्यकाको गुरुयोजना निर्माण गरेका माधवभक्त माथेमाबाट पुनः यहाँको अध्ययन गराउने योजना बनाइरहेको छ। यसले यो शहर परिवर्तनलाई थप टेवा पुर्याउने अपेक्षा नगरको छ।