महाभूकम्प गएको आज तीन वर्ष पुरा भएको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली धरहरा पुगेर भूकम्पमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली दिएका छन्।
हजारौंको ज्यान जाने गरी गएको विनाशकारी भूकम्पको सम्झनामा बुधबार विभिन्न कार्यक्रमको आयोजना हुँदैछन्।
राष्ट्रिय पुननिर्माण प्राधिकरणले आयोजना गरिरहेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली केहीबेर अघि धरहरा पुगेका हुन्।
२ वर्षअगाडि प्रधानमन्त्री ओलीले धरहरा पुनर्निर्माण गर्नको लागि ‘मेरो धरहरा मै बनाउँछु’ अभियान ल्याएका थिए। तर, आजसम्म पनि धरहरा पुनर्निर्माणले गति लिन सकेको छैन।
प्रधानमन्त्रीले भूकम्पले क्षतिग्रस्त धरहराको पुनर्निर्माणका लागि डोको र कोदालो बोक्न आफू पनि तयार रहेको बताए।
अघिल्लो पटक आफू प्रधानमन्त्री हुँदा घोषणा गरेको ‘मेरो धरहरा मै बनाउँछु’ भन्ने नारालाई सफल बनाएरै छाड्ने भन्दै प्रधानमन्त्री ओलीले इँटा, डोको, कोदालो, खर्पन बोक्न आफू तयार रहेको बताए।
गत २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर ७ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको थियो। भूकम्पमा झण्डै १० हजारले ज्यान गुमाएका थिए।
हेर्नुहोस् तस्बिरहरू :







