महोत्तरीको जलेश्वर नगरपालिकास्थित भूमिगत जलस्रोत विकास समिति शाखा कार्यालयमा वर्षौंदेखि गाडी थन्किएका छन्।
महोत्तरी, धनुषा, सर्लाही र सिन्धुलीको संयुक्त उक्त कार्यालयको परिसरमा ती गाडी थन्किएका हुन्। सो कार्यालय परिसरभित्र करिब चार बिगाहा क्षेत्रफलमा तीनवटा रिङ मेशिन, एउटा पानी ट्याङ्कर, तीनवटा जिप, तीनवटा ट्रयाक्टर, चारवटा ट्रयाक्टरका टेलर, दुईवटा ट्रक र एउटा ठूलो जेनेरेटर तथा दर्जनभन्दा बढी पम्पलगायत मेशिन बेवारिसे अवस्थामा छन्।
चारवटै जिल्लामा स्यालो ट्यूबवेल, डिप ट्यूबवेल जडान, इनार निर्माण र पम्प हाउस तथा पानी वितरणका लागि प्रयोग गरिने लाखौँ मूल्यका गाडी प्रयोगविहीन अवस्थामा छन्। कुनैबेला सो कार्यालयले आफैँ सिँचाइ सुविधाका लागि सम्पूर्ण काम गर्दा ती गाडी तथा मेशिन प्रयोग गर्ने गरेका थिए। पछिल्लो समय ती कार्यालयका काम ठेक्का र बोलपत्रमार्फत हुन थालेपछि चालू अवस्थामै रहेका गाडी र मेशिन थन्क्याइएको हो।
गाडी र मेशिनमा खिया लागेको छ। थन्क्याइएका गाडी र मेशिनलाई कबाडीमै बेचे पनि ५० लाख रुपैयाँभन्दा बढी राजस्व संकलन हुने देखिन्छ। सो कार्यालयका इञ्जिनियर गोपालप्रसाद साहले गाडी तथा मेशिन लिलामी प्रक्रियाका लागि विभागमा पत्र पठाइसकेको बताए।
कार्यालय प्रमुख राजेन्द्र न्यौपानेले लिलामीका लागि पटक पटक पत्राचार गरेपनि वर्षौंदेखि लिलाम हुन नसकेको बताए।रासस