विसं २०७२ को गोरखा भूकम्पका कारण पूर्ण रूपमा क्षति पुगेको रानीपोखरी पुनर्निर्माणका लागि ११ करोड ६० लाख ७३ हजार ९०० रुपैयाँ लाग्ने अनुमान भए पनि करिब सात करोड रुपैयाँमा निर्माण कम्पनीलाई जिम्मा दिइएको कामपाका लेखा अधिकृत श्याम पाण्डेले जानकारी दिए।
स्थानीय बासिन्दा, पुरातत्व विभाग र कामपाबीच कुरा नमिल्दा हालसम्म निर्माण गरिएका सबै संरचना भत्काउने तयारी भएको छ। यस किसिमको तयारीसँगै हालसम्म करिब दुई करोड ५० लाख रुपैयाँ खेर गएको छ। विसं २०७३ वैशाख १० गतेदेखि वल्र्डवाइड कँडेल केएन केजी जेभीले पुनर्निर्माण सुरू गरेको थियो। कामपाले भने आगामी जेठ १ गतेदेखि हालसम्म प्रयोग भएको आधुनिक निर्माण सामग्री हटाई पुनर्निर्माणको काम सुरू गर्ने जनाएको छ।
जेभिका निर्देशक अर्जुन कँडेलका अनुसार सम्झौतानुसार पहिलो चरणको पर्खाल लगाउने काम सकिएको छ। उनले भने, ‘अन्य काम सुरू गर्न नपाउँदै विभिन्न विवादका कारण काम रोकियो।’ स्थानीय बासिन्दाले भने नागरिकबाट लिइएको कर कामपाले खेर फालेको आरोप लगाएका छन् । दुई वर्ष लगाएर विसं १७२७ मा बनाइएको पोखरी प्रताप मल्लका कान्छा छोरा चक्रवर्तीन्द्रको मृत्युपछि रानीलाई शोकबाट मुक्त गराउन निर्माण गराइएको इतिहासमा उल्लेख छ ।