पूर्व पश्चिम राजमार्ग अन्तरगत दाङमा शनिबार बेलुका भएको सवारी दुर्घटनमा मृतकको संख्या तीन पुगेको छ।
उपचारका क्रममा रोल्पा जिल्लाको रुन्टीगढी गाउँपालिका वडा नम्बर ६ निवासी अन्दाजी ३५ वर्षीया देवीका थापा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ। प्रहरीका अनुसार थापाको गएराति उपचारका क्रममा बाँकेस्थित मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको हो।
शनिबार बेलुका नै गम्भीर घाइते दाङको लमही नगरपालिका वडा नं. ९ च्याउखोला निवासी २८ वर्षीय खड्गबहादुर बुढा र बर्दिया जिल्लाको ठाकुरद्धारा नगरपालिका वडा नं. १ का २० वर्षीय विवेक थारुको उपचारका क्रममा लमही अस्पतालमा मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख सुरज खड्काले जानकारी दिएका थिए।
उक्त दुर्घटनाबाट अझै चारजना घाइते छन्। घाइतेहरूमध्ये रोल्पा जिल्ला रुन्टीगढी गाउँपालिका वडा नं. ६ निवासी ७४ वर्षीया सरी पुनको गम्भीर अवस्थामा उपचार जारी रहेको प्रहरीले जानकारी दिएको छ। उक्त दुर्घटनाका अन्य घाइतेहरूमा दुईजना दाङका, एकजना रोल्पा र एकजना प्यूठान जिल्लाका छन्। जसमा दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ विजौरी निवासी ४६ वर्षीय बेलकुमारी बोहरा, दाङकै लमही नगरपालिका वडा नं. ९ निवासी ३६ वर्षीया कमला विक र प्यूठान जिल्लाको प्यूठान नगरपालिका वडा नं. ८ निवासी २२ वर्षीया सुस्मा केसीको मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत शनिबार बेलुका ६ बजेतिर लमही नगरपालिका वडा नं. ९ रिहार नजिकै दाङको घोराहीबाट नेपालगञ्ज तर्फ जाँदै गरेका भे १ ज ६१४ नम्वरको यात्रु बहाक हायसलाई र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको गरेको ना ४ ख ६६४८ नम्वरको ट्रकले ठक्कर दिँदा उक्त दुर्घटना भएको थियो। घाइते र मृतक सबै हायसमा सवार यात्रु हुन्।
हायसमा जम्मा सातजना मात्रै यात्रारत रहेको प्रहरीले जानकारी दिएको छ । तर हायसका चालक र ट्रकका चालकको अवस्था भने सकुशल रहेको प्रहरीले जनाएको छ। हायसका चालकलाई शनिबार साँझै नियन्त्रणमा लिइएको भए पनि ट्रकका चालक फरार रहेको हुँदा आइतबार बिहान मात्रै नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ। तीव्र गतिका कारण उक्त दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ।