नेपालले अंग्रेजलाई हराएको २०३ वर्षपछि बुटवलको ऐतिहासिक जितगढी किल्लामा पहिलो पटक विजय उत्सव मनाइएको छ।
अंग्रेज फौजलाई हराएर विश्वभर नेपालीको शिर उचो बनाए पनि जितगढी किल्लालाई ओझेलमा पारिएको भन्दै सर्वत्र आलोचना हुन थालेपछि बुटवल उपमहानगरपालिकाले यसको संरक्षण र सम्वर्द्धनमा टेवा पुर्याउने उद्देश्यले जितगढी उत्सव मनाउने निर्णय गरेको हो।
विभिन्न बाजागाजा तथा झाँकीसहित बुटवल उपमहानगरपालिका परिसरबाट सुरू भएको र्याली जितगढी पुगेर मुल कार्यक्रममा समावेश भएको थियो। कार्यक्रममा नेपाली सेनाले अंग्रेज फौजसँगको लडाइमा वीरगति प्राप्त गर्ने शहीदहरू प्रति तोपसहितको सलामी अर्पण गरेको थियो।
त्यसैगरी, मुख्यमन्त्री शंकर पोखरेलले झण्डातोरण गर्नुका साथै कर्णेल उजिरसिंहका शालिकमा माल्यार्पण गरेका थिए।
समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले जितगढीको वीरताको कारण नेपालको अस्तित्व रहेको बताए। उनले इतिहासका विजयी गाथाहरू नेपालमा कम भएकाले इतिहासको गाथालाई संरक्षण र प्रवर्द्धन गर्नु अहिलेको आवश्यकता रहेको बताए।
समृद्धि र विकास अहिलेको आवश्यकता रहे पनि इतिहासको संरक्षण र प्रवर्द्धन पनि जरुरी रहेको बताए।
मुख्मन्त्री पोखरेलले अब जितगढीको संरक्षणका लागि बुटवल उपमहानगरपालिकासँग प्रदेश सरकारले सहकार्य गर्ने बताए।
अहिले सम्म जितगढीको संरक्षण नहुनु दु:खद भए पनि उपमहानगरपालिकाले अहिले ऐतिहासिक जमर्काे गरेको भन्दै प्रदेश सरकारले अब आवश्यक सहयोग गर्ने उनको भनाइ थियो।
जितगढीसँगै ऐतिहासिक फुलवारी र नुवाकोट तीनवटै क्षेत्रको संरक्षण र प्रवर्द्धनका लागि योजना बनाउन मुख्यमन्त्री पोखरेलले बुटवल उपमहानगरपालिकालाई सुझाव दिए।
कार्यक्रममा गृहमन्त्री कुल बहादुर केसी, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरी, नेपाली कांग्रेसका प्रमुख सचेतक बलदेव शर्मा पोखरेल लगायतले जितगढीलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गरी आन्तरिक तथा बाह्य पर्यटकलाई बुटवलमा ल्याउन सके यस क्षेत्रको आर्थिक गतिविधि चलायमान हुने बताएका थिए।
विक्रम सम्बत् १८७२ वैशाख ७ गते जितगढीमा भएको लडाइमा नेपालसँग हारेपछि अंग्रेज सेना नेपालबाटै फर्किएको बताइन्छ। बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीले अंग्रेजलाई हराएको दिन वैशाख ७ गतेलाई अब निरन्तर विजय उत्सव दिवसका रूपमा मनाइने बताए।
चुरे पर्वतको काखमा र तिनाउ खोलाको पश्चिम किनारमा अवस्थित यो गढी १६ औं शताब्दीतिर सेनकालमा निर्माण भएको मानिएको छ।
यो खण्डहर बनेको किल्लाको संरक्षणको पहल २०५४ सालमा भए पनि अधुरो रहेको छ। जितगढीको सम्बन्धमा स्पष्ट उल्लेख विक्रम सम्बत् १८७१ को नेपाल र कम्पनी सरकारबीच भएको युद्धको समयमा भएको पाइन्छ।
वि.सं. २०५२ सालमा पुरातत्व विभागले गढी संरक्षण गर्ने क्रममा गढीको पर्खालको बीच भागको उत्तरतर्फ एउटा ट्रायल ट्रिच लिँदा पुरिएको पर्खालको पेटी भेटिएको थियो।
अहिले उपमहानगरपालिकाले जितगढीमा उजिरसिंहको पूर्णकदको शालिक र अहिलेसम्मकै ठूलो राष्ट्रिय झण्डा फहराउने योजना तय गरेको छ। चालू आर्थिक वर्षमा जितगढीको संरक्षण र प्रवर्द्धनको लागि ५० लाख रुपैयाँ विनियोजन गरेको छ।
जितगढीको भित्री पूर्वाधार निर्माण, झण्डा र शालिक निर्माणका अतिरिक्त त्यस क्षेत्रका भवनहरूको रङ एउटै बनाउने गरी उपमहानगरपालिकाले योजना बनाएको छ ।