मेलम्चीको पानी वितरणका लागि उपत्यकाको ६८४ किमी सडकमा पाइप बिच्छ्याइएको छ।
पहिलो चरणमा ७२० किमी सडकमा पाइप बिच्छ्याउने कार्यक्रम रहेकोमा अहिलेसम्म ६८४ किमी सडकमा पाइप बिच्छ्याइएको छ। डेढ महिनामा ७२० किमीमै पाइप बिच्छ्याइने काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ।
यसैगरी थोक वितरण प्रणालीको ७७ किमीमध्ये ६९ किमीमा पाइप बिच्छ्याइएको निर्देशनालयका प्रवक्ता लीलाप्रसाद ढकालले जानकारी दिए। असार मसान्तसम्म पहिलो चरणको पाइप बिच्छ्याउने काम सम्पन्न गर्ने लक्ष्य राखिएको उनले बताए।
पाइप ओच्छ्याइ सकिएका सडकमा कालोपत्रको काम पनि भइरहेको छ। आठ मिटर कम चौडाइका सडकमा निर्देशनालयले नै कालोपत्र गर्दैछ। आठ मिटरमाथिका सडकमा सडक डिभिजन कार्यालयले कालोपत्र गर्ने सडक विभागका प्रवक्ता मुक्ति गौतमले बताए।
सडकका मुख्य चोकमा भल्भ च्याम्बर निर्माण भइरहेकाले कालोपत्र भएका सडकमा जेब्रा क्रसिङ बनाउन नसकिएको निर्देशनालयले जनाएको छ। असार मसान्तसम्म निर्माणसँगै पैदलयात्रुका लागि जेब्रा क्रसिङ पनि बनिसक्नेछ।रासस