मेडिकलको नाममा अवैध लागूऔषधको कारोबार गरेको आरोपमा प्रहरीले काठमाडौंका २ मेडिकल सञ्चालकलाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी वृत्त कालीमाटीको प्रहरी टोलीले बल्खु र बाफलमा रहेका दुइटा मेडिकल हलमा छापा मारी सञ्चालकसहित ३ जनालाई पक्राउ गरेको हो।
बल्खुस्थित कार्की मेडिकल हल र पूर्णिमा किराना स्टोरका सञ्चालक गोपाल कार्की र बाफलमा रहेको सौभाग्य मेडिकल हलका सञ्चालक सुमन खनाल र उनका कामदार प्रविणकुमार बिसंखेलाई पक्राउ गरेको काठमाडौं प्रहरीले जनाएको छ।
दुबै औषधि पसलले उच्च मूल्य लिई मेडिकल बोर्डको अनुमति बिना नसा दिने प्रकृतिका ट्रमा, कफट्याब, डि स्टागन, डिकेलिक, ओपिडोल, स्पासमोलजस्ता लागूऔषध बेचबिखन गरिरहेको प्रहरीको भनाइ छ।
प्रहरीले ट्रमा क्याप्सुल २७ सय २८ थान, कफट्याब डि दुई हजार एक थान, स्टागन १८ सय थान, ओपिडोल ट्याबलेट सय थान, स्पासमोल ट्याबलेट सय थान र डिकोलिक ट्याबलेट १६ सय थान बरामद गरेको छ।
पक्राउ परेका तीनै जनालाई थप कारवाहीका लागि औषधि व्यवस्था विभागमा पठाएको काठमाडौं प्रहरी प्रवक्ता डिएसपी मोहन थापाले जानकारी दिए।