ईलाका प्रहरी कार्यालय तुलसीपुरले मोटरसाइकल चोरी गर्ने गिरोहलाई पक्राउ गरेको छ।
प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरी दाङको तुलसीपुर क्षेत्रबाट मोटरसाइकल चोरी गरी पहाडी जिल्ला रोल्पामा लगेर विक्री गर्ने गिरोहलाई सार्वजनिक गरेको हो।
उक्त गिरोहले गत कात्तिक महिनायता विभिन्न व्यक्तिका चारवटा मोटरसाइकल चोरी गरेको ईप्रका प्रमुख एवं डिएसपी प्रकाश सापकोटाले जानकारी दिए। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ टिकरी निवासी २१ वर्षीय कृष्ण घर्ती, सोही ठाउँका २० वर्षीय कृष्ण वली लगायत मोटरसाइकल चोरीमा सम्लग्नसहित ५ जनालाई सर्वाजनिक गरेको छ।
प्रहरीका अनुसार मोटरसाइकल चोरी गर्ने गिरोहमा सम्लग्न तुलसीपुरको वडा नम्बर २ का खगेन्द्र, तुलसीपुर ८ का केशव भण्डारी, सोही ठाउँका कुलानन्द वली भने फरार रहेका छन्।
त्यस्तै, प्रहरीले चोरीका मोटरसाइकल खरिद विक्रीमा सम्लग्न व्यक्तिहरूको नाम पनि सार्वजनिक गरेको छ। तुलसीपुर २ निवासी खगेन्द्र गिरी, सोही ठाउँका केशव भण्डारी, सोही ठाउँकै कुलानन्द वली, रोल्पा रोल्पाको त्रिवेणी गाउँपालिका वडा नम्बर ७ निवासी भानु केसी, रोल्पाको गंगादेवी गाउँपालिका वडा नम्बर २ ओइलाम निवासी भुपाल वलीले चोरीका मोटरसाइकल खरिद विक्री गर्ने गरेको जानकारी दिएको छ।
मोटरसाइकल चोरी गर्दै आएको यो गिरोहले रातको समयमा घरमै पार्किङ गरेर राखेको मोटरसाइकल चोरी गरेर नम्वर परिवर्तन गरी पहाडी जिल्ला रोल्पामा लगेर २५ देखि ५० हजार मूल्यमा विक्री गर्ने गरेको ईप्रका प्रमुख सापकोटाले बताए।
गत वैशाख ४ गते तुलसीपुर ९ बेलुवामा चेकजाँचका क्रममा एउटा चोरीको मोटरसाइकल फेला परेपछि त्यसैको आधारमा मोटरसाइकल चोरी गर्ने गिरोह पत्ता लागेको डिएसपी सापकोटाले बताए। अन्य सबै मोटरसाइकलहरू भने रोल्पा जिल्लामा रहेका ग्यारेज तथा विभिन्न व्यक्तिहरूले प्रयोग गर्दै आएको अवस्थामा बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।
चोरी गरे लगत्तै मोटरसाइकलहरूलाई ग्यारेजमा लगेर नम्बर प्लेट परिवर्तन गर्ने, रङ पनि बदल्ने तथा पाटपूर्जा समेत परिवर्तन गर्ने गरेको समेत पाइएको प्रहरीले जानकारी दिएको छ। पटक पटक मोटरसाइकल चोरी गरेको हुँदा उक्त गिरोह विरुद्ध पटके कायम गरी मोटरसाइकलको बजार मूल्य अनुसार विगो कायम आर्थिक जरिवाना हुने गरी मुद्दा चलाउने ईप्रका प्रमुख सापकोटाले बताए।
दाङमा हालसम्म चोरीका मोटरसाइकल प्रहरीले बरामद गर्दै आएको भए पनि यसरी गिरोह नै पक्राउ गर्न सकेको थिएन।